दक्षिण एशियाली मुलुकहरुसंगको आर्थिक सम्बन्धलाई निकै मजवुत बनाउने अभियानमा रहेको चीनको यूनान प्रान्तले नेपालसंगको आर्थिक व्यापारिक सम्बन्धलाई नयाँ उचाईमा स्थापित गर्ने इच्छा देखाएको छ । सूर्ति, पर्यटन, खनिज, जल उर्जा, जैविक प्रविधिमा सम्पन्न यूनान प्रान्तले नेपालसंग पर्यटन, खानिजजन्य उद्योग, जल उर्जा लगायतका क्षेत्रमा सहकार्य गरी अगाडी बढ्ने चाहना देखाएको छ । यूनानले कुनमिङ-काठमाडौं सिधा हवाई उडान छिट्टै संचालन गर्ने विश्वास समेत दिलाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल-चीन उद्योग वाणिज्य संघद्वारा यूनान प्रान्तको वाणिज्य विभागका उप-महानिर्देशक ली जिमिङ (Li Jiming, Deputy Director General, Department of Commerce of Yunnan Province) को नेतृत्वमा नेपाल भ्रमणमा आएको यूनानको आर्थिक वाणिज्य प्रतिनिधिमण्डलसंग संयु्क्त रुपमा हिजो महासंघ सचिवालयमा आयोजित भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा चिनीयाँ पक्षबाट सो धारणा व्यक्त गरिएको हो ।
नेपाल र यूनान बीच विद्यमान आर्थिक तथा व्यापारिक सम्बन्ध, पर्यटन, कृषि, जल उर्जा जस्ता महत्वपूर्ण क्षेत्रमा हुन सक्ने संयुक्त लगानी तथा प्रविधिका विषयमा केन्द्रीत उक्त कार्यक्रममा महासंघका तर्फबाट प्रस्तुत गरिएको "नेपालमा व्यापार तथा लगानीका अवसरहरु" विषयक कार्यपत्रलाई यूनानको प्रतिनिधिमण्डलले निकै उत्सुकतापूर्वक लिई पर्यटन, जल विद्युत, खानीजन्य उद्योगमा हासिल गरेको अनुभव र यी क्षेत्रहरुमा नेपालमा रहेको प्रचुर सम्भाव्यता बीच सहकार्य हुन सक्ने विश्वास दिलाएको छ ।
प्रारम्भमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष कुशकुमार जोशीले आर्थिक रुपमा सम्पन्न चीनको यूनान प्रान्तले उर्जा, पर्यटन, कृषि, खनिजजन्य उद्योग जस्ता क्षेत्रमा हासिल गरेको विशेषज्ञता नेपालका लागि निकै महत्वपूर्ण हुने र यी क्षेत्रमा यूनानको अनुभव भित्रयाउन नेपाली निजी क्षेत्र उत्सुक रहेको बताउनु भयो । अध्यक्ष जोशीले यी क्षेत्रमा संयुक्त लगानीका लागि आग्रह समेत गर्नु भयो । अध्यक्ष जोशीले चीनको चेंग्दुमा हालै सम्पन्न नेपाल चीन गैरसरकारी सहयोग मंचको दशौं बैठकका अवसरमा दुई देश बीचको आर्थिक व्यापारिक सम्बन्धलाई मंचका माध्यमबाट सशक्त रुपमा अगाडी बढाउन भएको सहमती निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुहुंदै आर्थिक व्यापारिक सम्बन्धलाई हालका दिनहरुमा बढोत्तरी गर्न दुवै देशका व्यावसायिक क्षेत्रको सक्रिय सहभागितामा समय समयमा आयोजना भएका व्यापारिक मेला महोत्सवको निकै ठूलो भूमिका रहेको स्पष्ट पार्नु भयो ।
यूनान प्रान्तको कुनमिङ शहरमा गत वर्षसम्पन्न कुनमिङ अन्तराष्ट्रिय मेला नेपालका लागि निकै महत्वपूर्ण रहेको र आगामी वर्षआयोजना हुने सो मेलामा नेपालले गत वर्षको अनुभव समेतको आधारमा प्रस्तुत हुने स्पष्ट पार्नु भयो ।
सो अवसरमा प्रतिनिनिधिमण्डलका नेता एवं युनान वाणिज्य विभागका उपमहानिर्देशक लीले यूनानलाई दक्षिण एशियाका राष्ट्रहरुसंग आर्थिक व्यापारिक सम्बन्ध विस्तार गर्न पुलको रुपमा विकास गर्ने केन्द्रीय सरकारको नीति वमोजिम आफ्नो प्रान्तले यस क्षेत्रका देशहरुसंगको सम्बन्धलाई निकै प्राथमिकता दिएको र सोही अनुसार नेपालसंगको आर्थिक व्यापारिक सम्बन्धलाई नयाँ उचाईमा लैजान चाहेको बताउनु भयो ।
उपमहानिर्देशक लिले यूनानको अर्थतन्त्रका पा“च आधार स्तम्भहरु सूर्ति, पर्यटन, उर्जा, खानीजन्य तथा जैविक प्रविधि रहेकाले यूनानले नेपालसंग मुलतः पर्यटन, उर्जा विकास, खानीजन्य उद्योग र कृषिमा सहकार्य गर्न सक्ने विश्वास दिलाउनु भयो । महासंघको तथ्यांक अनुसार नेपालको चीनसंग मात्र करिव २१.५ अर्व रुपैयांको वाषिर्क व्यापार घाटा रहेको छ । आगामी सन् २०१० मा कुनमीङमा आयोजना हुने अन्तराष्ट्रिय व्यापार मेलामा नेपालको सहभागितालाई आफनो प्रान्तले निकै महत्वका साथ हेरेको र उक्त मेलामा करिव एक सय नेपाली स्टललाई निःशुल्क सहभागिता दिने विश्वास समेत दिलाउनु भयो । यूनानको सो सहयोगबाट नेपालको चीनसंगको व्यापार घाटालाई केही न्युनिकरण गर्नमा समेत सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले नेपालसंगको आर्थिक व्यापारिक सम्बन्ध बढाउन यूनानले देखाएको सदासयताप्रति आभार प्रकट गर्नुहुंदै नेपाली वस्तुहरुको चीन निर्यातमा विशेष सहुलियतका लागि सरकारका तर्फबाट आवश्यक पहल भैरहेको र विशेष सहुलियत दिनुपर्ने नेपाली वस्तुहरुको नामावली चीन सरकार समक्ष पठाई सकिएको जानकारी गराउनु भयो । उहाँले कुनमिङमा आउंदो वर्षहुने व्यापार मेलामा नेपालको सहभागिताका लागि दिइएको उच्च महत्वको प्रशंसा समेत गर्नुभयो । उहाँले दुवै देशका निजीस्तरबाट आर्थिक, व्यापारिक, संयुक्त लगानी विस्तारमा हुने गतिविधिलाई नेपाल सरकारका तर्फबाट पूर्ण सहयोग रहने विश्वास समेत दिलाउनु भयो ।
महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकालले हालै सम्पन्न नेपाल चीन गैर सरकारी सहयोग मंचको दशौं बैठकमा भएको सहमती अनुसार दुई देश बीचको आर्थिक व्यापारिक सम्बन्धलाई मजवुत वनाउने सन्दर्भमा यूनानको सहयोग आवश्यक रहेको बताउनु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले "नेपालमा व्यापार तथा लगानीका लागि अवसरहरु" विषयमा कार्यपत्र प्रस्तुत गर्दै बैदेशिक लगानीका लागि नेपाल सरकारले अत्यन्त उदार नीति अवलम्वन गरेकाले नेपालमा कृषि तथा यससंग सम्बन्धित उद्योग व्यवसाय, जडीवूटी, पर्यटन, जलश्रोत, खानीजन्य उद्योग, शिक्षा, स्वास्थ्य, भौतिकपूर्वाधार जस्ता क्षेत्रमा लगानीका लागि यूनानको प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो ।
महासंघको कार्य समितिका सदस्यहरु, नेपाल चीन उद्योग वाणिज्य संघका सदस्य एवं चीनसंग व्यवसायिक कारोवार गर्ने नेपाली व्यवसायीहरुको सहभागिता रहेको सो कार्यक्रममा नेपालस्थित चिनियाँ राजदुतावासका इकोनोमिक काउन्सिलर पाई तोङमिङ (Bai Dongmin) ले आर्थिक सम्बन्ध विस्तार, लगानी अभिवृद्धिका सम्बन्धमा हालै दुई देशका निजी क्षेत्रबाट भएका गतिविधिहरु निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने सन्दर्भमा राजदुतावासको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु भयो । कार्यक्रमको अन्त्यमा नेपाल चीन उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ज्योतिकुमार वेगानीले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।