नेपाल उद्योग वाणिज्य महासंघद्वारा महासंघको घरेलु तथा साना उद्योग समिति र महिला उद्यमी विकास समिति मार्फत क्षेत्रगत विकासमा हालसम्म भएका उपलव्धी एवं कार्यक्रम माथि वृहद छलफल गरि आगामी कार्ययोजना तय गर्ने उद्देश्यले आज ललितपुरमा कार्ययोजना तर्जुमा गोष्ठी आयोजना गरियो ।
गोष्ठीमा मुलुकमा हाल संचालित अधिकांश उद्योग व्यवसाय घरेलु तथा साना उद्योगहरुनै भएको र यस्ता उद्योगधन्दालाई प्रविधि, लगानी, बजार विस्तार एवं उत्पादन विविधिकरणका दृष्टिले समेत आधुनिकता तर्फउन्मुख गराउनु पर्ने, घरेलु तथा साना उद्योग र महिला उद्यमशीलतालाई एक अर्कामा समन्वयात्मक रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिइएको थियो ।
करिव २५ जना उद्यमीहरुको सहभागितामा आयोजित उक्त गोष्ठीको प्रारम्भमा महासंघका अध्यक्ष कुशकुमार जोशीले संविधान निर्माणसंगै आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राखेर मुलुक अघि बढ्नु पर्ने वेलामा अन्यत्र विषयान्तर भएकोमा चिन्ता प्रकट गर्नुहुंदै मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रमात्र एक्लै हिडिरहेको बताउनु भयो । अध्यक्ष जोशीले घरेलु तथा साना उद्योगलाई ज्ञान, शीप, प्रविधिका दृष्टिमा प्रतिस्पर्धी बनाउन खांचो रहेकोमा जोड दिनुहुंदै महासंघले यस्ता उद्योगहरुलाई प्रतिस्पर्धी बनाउन सरकार तथा विभिन्न दातृ निकायहरुसंग सहकार्य गरि अगाडी बढेको जानकारी गराउनु भयो ।
विकसित देशबाट लगानी, प्रविधि, शीप एवं औद्योगिक संस्कार समेत भित्रयाई नेपाली उद्योगधन्दाको विकास गर्ने उद्देश्यले महासंघले जापानको जीटकोसंग मिलेर औद्योगिक प्रशिक्षार्थीहरु जापान पठाउन थालेको जानकारी गराउनु हुंदै अध्यक्ष जोशीले उनीहरु फर्केर उद्योग धन्दामा काम गर्न थालेपछि ठूलो परिवर्तन आउने र यसबाट घरेलु तथा साना उद्योग क्षेत्र पनि लाभान्वित हुने बताउनु भयो । महासंघको घरेलु तथा साना उद्योग र महिला उद्यमी समितिको सहकार्यमा आयोजित यस गोष्ठीले समितिहरुले यी क्षेत्रको विकासका लागि आगामी दिनमा गर्ने कार्यक्रमलाई निर्दिष्ट गर्ने विश्वास समेत उहांले व्यक्त गर्नुभयो ।
महासंघका उपाध्यक्षहरु भाष्करराज राजकणिर्कार र प्रदीपजंग पाण्डेले राष्ट्रिय वजारमा स्वदेशी उद्योगधन्दाका उत्पादनहरुले राम्रो स्थान लिएपछि मात्र वाह्य वजारमा निर्यात गर्न सकिने हुंदा स्वदेशी उत्पादन विविधिकरण, आन्तरिक वजार विस्तार, गुणस्तर तथा उत्पादन लागतका आधारमा समेत स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउनु पर्ने खांचो रहेको सर्न्दर्भमा आयोजित यो कार्यक्रम घरेलु तथा साना उद्योग एवं महिला उद्यमशीलता विकासका आगामी कार्यक्रम एवं रणनीति तय गर्नमा निकै महत्वपूर्ण हुने विश्वास प्रकट गर्नुभयो ।
सो गोष्ठीमा महासंघको घरेलु तथा साना उद्योग विकास समितिका सभापति डिवी वस्नेत र महिला उद्यमी विकास समितिका सभापति भवानी राणाले आ-आफनो समितिको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने गोष्ठीमा मोडरेटरको भूमिका घरेलु तथा साना उद्योग समितिका सल्लाहकार हरिहर सुवेदीले गर्नुभएको थियो ।