नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी एवं महासंघका पदाधिकारी र अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा बीच आज महासंघको सचिवालयमा सम्पन्न भेटघाट कार्यक्रममा राजदूत शर्माले आर्थिक कुटनीतिका माध्यमबाट अमेरिकामा नेपाल प्रवर्द्धनका लागि आफूले मुख्यरुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान र रविभक्त श्रेष्ठ, उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकणिर्कार, प्रदीपजंग पाण्डे तथा कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता रहेको सो छलफल एवं भेटघाट कार्यक्रममा महासंघका तर्फबाट अमेरिका र नेपाल बीचको आर्थिक, व्यापारिक सम्बन्ध विस्तार, नेपालमा अमेरिकी प्रविधि, लगानी आकर्षण सहित नेपाली वस्तुहरुको अमेरिकी वजार प्रवर्द्धनका लागि आर्थिक कुटनीतिका माध्यमबाट पहल हुन जोड दिएपछि राजदुत शर्माले सो प्रतिवद्धता जनाउनु भएको हो ।
नेपाली तयारी पोसाक, गलैचा, पश्मिना तथा अन्य हस्तकलाका वस्तुहरुको अमेरिकी बजारमा निर्यातको अधिकतम सम्भाव्यता रहेको छ भने जलविद्युत, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन, व्यवसायिक कृषि आदि क्षेत्रमा नेपालमा अमेरिकी लगानीको ठूलो सम्भाव्यता रहेको अवस्थामा भेटघाट कार्यक्रममा यसका लागि राजदुतावासको तर्फबाट ठोस पहल हुन सुझाव दिइएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष जोशीले राजदुत शर्माको स्वागत गर्नुहुंदै नेपाल अमेरिका बीचको आर्थिक सम्बन्ध विस्तारका सम्भाव्यतालाई यथार्थतामा परिणत गर्न आर्थिक कुटनीति वलियो माध्यम हुने हुंदा राजदुत तथा राजदुतावासले यसलाई सधै उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिनु भयो । हालैका दिनहरुमा नेपालसंग आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्न अन्तर्राष्ट्रिय जगतले निकै चासोदिएको अनुभव निजी क्षेत्रले गरेको प्रशंग राख्नु हुंदै अध्यक्ष जोशीले शान्ति सुरक्षाको भरपर्दो व्यवस्थाका लागि सरकार चनाखो भई विभिन्न देशमा रहेका नेपाली दुतावासहरुबाट आर्थिक कुटनीतिका माध्यमबाट नेपाल प्रवद्धन, नेपालमा लगानीका सम्भाव्यताको पर्याप्त प्रचार प्रसार हुन सकेमा त्यसलाई व्यवहारीक रुपमा सफल बनाउन सकिने वताउनु भयो । अध्यक्ष जोशीले मुलुकको आर्थिक समृद्धिका लागि राजदुतावासले चाल्ने सबै प्रकारको गतिविधिलाई महासंघका तर्फाट पूर्ण सहयोग रहने विश्वास समेत दिलाउनु भयो ।
नवनियुक्त राजदुत शर्माले नेपाल अमेरिका बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका सम्बन्धमा प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिंदै सुझावलाई व्यवहारत सफल पार्न महासंघसंग निरन्तर सर्म्पर्कमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो । केही महत्वपूर्ण एजेण्डाहरु जस्तो तयारी पोशाक, गलैचा लगायत नेपालको प्रतिस्पर्धात्मक क्षमता भएका अन्य वस्तुहरुको अमेरिकी बजार प्रवर्द्धनमा आफूले विशेष जोड दिने पनि उहांको धारणा थियो । राजदुतावासका तर्फबाट हुने कार्यक्रमलाई परिणाममुखी बनाउने तर्फआफू सदैव चनाखो रहनेमा पनि उहांले जोड दिनु भयो ।
सो कार्यक्रममा महासंघका कार्यकारिणी समिति सदस्यहरु एजी शेर्पा, डीवी बस्नेत, प्रशान्त पोखरेल, आजाद श्रेष्ठ र महानिर्देशक मेघनाथ न्यौपानेको उपस्थिति रहेको थियो ।