नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी एवं महासंघका पदाधिकारी र क्यानाडाका लागि नवनियुक्त नेपाली राजदूत डा. भोजराज घिमिरे बीच आज महासंघको सचिवालयमा सम्पन्न भेटघाट कार्यक्रममा राजदूत घिमिरेले नेपाल र क्यानाडा बीचको विद्यमान आर्थिक व्यापारिक सम्बन्धलाइ विस्तार गर्न आफुले महासंघसंग नजिक रहेर कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।
महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, कार्यकारिणी समितिका सदस्यहरु चन्द्रकृष्ण कर्माचार्य, नवराज श्रेष्ठ तथा महानिर्देशक मेघनाथ न्यौपानको सहभागिता रहेको सो छलफल एवं भेटघाट कार्यक्रममा महासंघका तर्फबाट नेपाल क्यानाडा बीच विद्यमान व्यापार घाटालाई कम गरि नेपालमा क्यानेडियन लगानी, प्रविधि, शीप भित्रयाउन राजदुतावास विशेष केन्द्रीत हुनु पर्ने र खासगरि क्यानेडियन लगानीकर्ताहरु नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि आकषिर्त देखिएकाले त्यसतर्फराजदुतावासको विशेष प्रयास हुनु पर्नेमा जोड दिइएपछि राजदुत घिमिरेले यसका लागि महासंघसंग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो ।
प्रतिव्यक्ति आय बढी भएको तथा कम जनसंख्या भएको समृद्ध राष्ट्र क्यानाडामा नेपाली तयारी पोशाक, गलैचा, पश्मिना तथा अन्य हस्तकलाका वस्तुहरुको राम्रो बजार हुन सक्ने र क्यानाडा जलविद्युत विकासमा अनुभवी राष्ट्र भएकाले उनीहरुको अनुभव तथा प्रविधि नेपालको जलविद्युत विकासमा निकै फलदायी हुनेभएकाले त्यसलाई "क्यास" गर्न सक्नु पर्ने सुझाव सो अवसरमा दिइएको थियो । यसका लागि आर्थिक कुटनीतिलाई मुख्य माध्यम बनाउनु पनि सुझाव पनि सो अवसरमा दिइयो ।
सो अवसरमा महासंघका अध्यक्ष जोशीले राजदुत घिमिरेको स्वागत गर्नुहुंदै नेपाल-क्यानाडा बीचको विद्यमान आर्थिक सम्बन्धलाई प्रगाढ पार्दै नेपालको जलविद्युतमा क्यानेडियन लगानीकर्ताहरुले देखाएको उत्साहलाई "क्यास" गर्न राजदुतावासको तर्फबाट सहयोगको अपेक्षा गर्नुभयो । आर्थिक कुटनीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान राजदुतावास र निजी क्षेत्रको सहकार्य अत्यन्त आवश्यक रहेको तर्फ महासंघ विश्वस्त रहेकोले जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास समेत दिलाउनु भयो ।
नवनियुक्त राजदुत घिमिरेले नेपाल क्यानाडा बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन विकास, लगानी आकर्षाका सम्बन्धमा प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिंदै सुझावलाई व्यवहारत सफल पार्न महासंघसंग निरन्तर सर्म्पर्कमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो । राजदुत घिमिरेले नेपाललाई क्यानाडामा प्रवर्द्धन गर्न र नेपालमा क्यानेडियन लगानी आकर्षण गर्ने तथा व्यापारिक सम्बन्ध विस्तारमा योजनागत रुपमा अगाडी बढ्ने र त्यसक्रममा दुवै देशका निजी क्षेत्रका उद्योग वाणिज्य संघहरु बीच सम्बन्ध विकास, व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, व्यापार मेलाको आयोजना जस्ता कार्यक्रमलाई योजनागत रुपमा कार्यान्वयन गर्ने विश्वास दिलाउनु भयो ।