नेपाल उद्योग वाणिज्य महासंघद्वारा सार्क वाणिज्य मन्त्रीहरुको बैठकमा भागलिन काठमाडौं आउनु भएका भुटानका आर्थिक मामिला सम्बन्धी मन्त्री ल्योन्पो खान्दुप वाङचुक (Lyonpo Khandup Wangchuk) संग आज महासंघको सचिवालयमा दुइ देश बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल कार्यक्रम आयोजना गरियो ।
सो अवसरमा नेपाल र भुटान दुवै भुपरिवेष्टित राष्ट्र भएकाले दुवै देशका समान किसिमका समस्या तथा चुनौती एवं प्राकृतिक सुन्दरता तथा सम्भाव्यताका विषयमा विस्तृत छलफल हुनुको साथै भुटानले हालैका वर्षरुमा जलविद्युत विकास, पर्यटन तथा उच्चमूल्यका कृषि उत्पादनको विकासमा पाएको सफलता तथा अनुभव नेपालका सर्न्दर्भमा निकै महत्वपूर्ण हुने देखिएकोले यी क्षेत्रमा संयुक्त सहकार्यका लागि प्रस्ताव गरिएको थियो । यसका लागि नेपाल भुटान आर्थिक परिषद् जस्ता संयन्त्र निर्माणगरि दुवै देशका निजी क्षेत्रबाट आर्थिक व्यवसायिक सम्वन्ध सुधारलाई तीव्रता दिनु पर्नेमा सो अवसरमा जोड दिइयो ।
छलफलका क्रममा नेपाल र भारत बीच केही दिनअघिमात्र नविकृत वाणिज्य सन्धिमा हस्ताक्षर भएको स्मरण गर्दै यसबाट नेपालमा थप लगानीको अवसर सृजना भएको र नेपाली वस्तुहरु भारत निकासीका लागि थप मार्ग प्रशस्त भएको उल्लेख गर्दै नेपालमा भुटानी संयुक्त लगानीमा उद्योग व्यवसाय विस्तार गर्न सकिनेमा जोड दिइयो ।
सो अवसरमा भुटानका आर्थिक मामिला मन्त्री वाङचुकले नेपाली निजी क्षेत्रसंग बसेर दुइ देश बीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारका सम्भाव्यता तथा हासिल गरेका उपलव्धी आदान प्रदान गर्न पाएकोमा खुशी प्रकट गर्दै जलविद्युत विकास सहित राष्ट्रिय आर्थिक समृद्धि हासिल गर्न आफनो राष्ट्रले लिएको प्रतिवद्धताका विषयमा जानकारी गराउनु भयो । मन्त्री वाङचुकले नेपाल र भुटान बीच जलविद्युत, पर्यटन, व्यवसायिक कृषि विकासमा सहकार्यको प्रशस्त सम्भावना रहेकाले यी क्षेत्रमा सहकार्यका लागि आउंदा दिनमा संयुक्त रुपमा अगाडी बढ्नु पर्ने बताउनु भयो । आर्थिक समृद्धि हासिल गर्ने महान अभियानका लागि भुटान सरकारले विद्यमान आर्थिक तथा व्यवसायिक नीतिहरु, लगानी सम्त्रन्धी नीतिहरुका विषयमा निजी क्षेत्रसंग नजिक रहेर कार्य गरिरहेको अनुभव समेत सुनाउनु भयो ।
त्यसअघि मन्त्री वाङचुकको स्वागत गर्नुहुंदै महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकालले दुवै देशका निजी क्षेत्रको संयुक्त प्रयासमा व्यापार तथा आर्थिक सम्बन्ध विस्तार, उर्जा, पर्यटन, व्यवसायिक कृषि विकासका क्षेत्रमा सहकार्यका लागि आग्रह गर्नुभयो । निवर्तमान अध्यक्ष ढकालले समान किसिमको भौगोलिक अवस्था तथा चुनौतीहरुको सामना गरिरहेका दुवै देशले र्सार्क तथा र्सार्क उद्योग वाणिज्य संघ जस्ता मंचहरुको माध्यमबाट यस क्षेत्रको आर्थिक व्यवसायिक विकासका लागि सशक्त रुपमा आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्यम ज्योति, प्रदीपकुमार श्रेष्ठ र विनोद बहादुर श्रेष्ठले द्विपक्षीय आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन जस्ता विषयमा आ-आफना धारणा राख्नु भएको थियो । महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कार, कार्यकारिणी समितिका सदस्यहरु कुमुद कुमार दुगड, ज्ञानेन्द्रलाल प्रधान, ललितपुर, भक्तपुर तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्षहरु तथा महासंघका महानिर्देशकको सहभागिता रहेको सो वैठकको अन्त्यमा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले आर्थिक व्यापारिक सम्बन्धलाई मजवुद बनाउन दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुको सहकार्यमा जोड दिनुभयो ।