विभिन्न परिस्थितिका कारण अर्थतन्त्रका आधारस्तम्भ उद्योग व्यवसाय दिनानुदिन धरासायी हुंदै गएको वर्तमान अवस्थामा उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरुलाई राजनीतिक कार्यक्रमहरुमा जवरजस्ती उपयोग गर्ने गतिविधिहरु भएको सुनिनमा आएकोले नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ ।
उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्रकै संवेदनशीलतालाई मनन गरि राजनीतिक कार्यक्रमहरुमा उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरुलाई जवरजस्ती उपयोग गरि यस क्षेत्रलाई अझ जीर्ण पार्ने कार्य कहीकतैबाट पनि नगरियोस भनि महासंघ मुलुकका सबै जिम्मेवार राजनीतिक दलहरुसंग गम्भीर आग्रह गर्दछ । उद्योग व्यवसायको संवदेनशीलताप्रति सवै राजनीतिक पार्टी उत्तिकै जिम्मेवार र प्रतिवद्ध रहेको महशुस महासंघले गरेको छ ।
यर्सथ, त्यस्ता राजनीतिक कार्यक्रमहरुमा श्रमिकहरुलाई उपयोग नगर्न आग्रह गर्दै आफनो कामप्रति उत्तिकै जिम्मेवार भई राष्ट्रिय अर्थतन्त्रको महत्व र यसको अस्तित्वमा संकट उत्पन्न भएमा पर्ने असर समेतलाई विचार गरि आ-आफ्नो क्षेत्रबाट निरन्तर कार्य गर्न महासंघ सवै श्रमिकहरुमा आव्हान गर्दै काम छाडेर आन्दोलनमा जाने श्रमिकहरुलाई "नो वर्क नो पे" (no work no pay) को व्यवस्था लागू गर्न वाध्य हुने पनि सम्बन्धित सबैमा महासंघ जानकारी गराउंदछ ।