निर्धारत समयमै बजेट पास नहुंदा चालु खर्च भुक्तानीका लागि समस्या उत्पन्न भई सरकारी सेवा, अत्यावश्यक अस्पताल सेवा, सुरक्षा अंगका दैनिक कार्यहरु संचालनमा समेत प्रतिकुल असर पर्नुका साथै विकास निर्माणका सम्पूर्ण कार्यहरु तथा व्यापारिक गतिविधि अवरुद्ध हुन गई मुलुकभित्र चरम आर्थिक संकट पैदा हुने खतरा देखिएको छ । मुलुकमा उत्पन्न यस्तो परिस्थिति प्रति निजी क्षेत्रको सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ ।
ठूलो राजनीतिक परिवर्तन पश्चात नयाँ यूगको थालनीसंगै सुख समृद्धिका लागि नयाँ विहानीको थालनी हुने पखाईमा रहेका पौने तीनकरोड नेपालीहरु दिनानुदिन गहिरिदै गएको राजनीतिक असहमझदारी र त्योसंगै देखिएको चरम आर्थिक संकट तर्फ झनै चिन्तित र गम्भीर हुन थालेका छन् । निर्धारित समयमै बजेट पास गरि मुलुकलाई विकास निर्माणका कार्यहरुमा द्रुततरगतिमा अगाडी बढाउने कार्यका साथै संविधान निर्माण गर्ने जस्ता गहन अभिभारा तर्फमुलुकका राजनीतिक पार्टीमा देखिएको उदासिनता प्रति सम्पूर्ण निजी क्षेत्र चिन्तित छ । यस्तो अवस्थामा सबैलाई संयमित भई आ-आफना जिम्मेवारीहरु कर्तव्यनिष्ठ भई पालना गर्न समेत महासंघ आग्रह गर्दछ ।
मुलुकको दैनिक क्रियाकलाप संचालनका लागि अत्यावश्यक वजेट निर्धारित समयमै पास गरि मुलुकलाई निकास दिनु सबैको कर्तव्य हो । राष्ट्रको भविष्यसंग गांसिएको यस्तो संवेदनशील विषयमा राजनीतिक हलो अड्काएर मुलुकलाई गम्भीर संकटमा लैजानु कुनै पनि हिसावमा श्रेयस्कर नहुने धारणा निजी क्षेत्रको छ । यर्सथ, मुलुकभित्र तत्काल राजनीतिक सहमतीको विकास गरि संवेदनशील परिस्थिति र विषयवस्तुलाई मनन गरि तत्काल चालु आवको वाषिर्क वजेट पास गर्ने वातावरण निर्माण हुन महासंघ मुलुकका सवै जिम्मेवार राजनीतिक दलहरु, नेपाल सरकार लगायत सम्बन्धित सवैमा हार्दिक आग्रह समेत गर्दछ ।