नेपाल र भारतका विभिन्न शहरहरु बीच हवाई सेवा सुचारु गर्ने सम्वन्धमा दुवै देशका सरकार बीच भएको सम्झौतालाई अत्यन्त महत्वपूर्ण उपलव्धीका रुपमा लिई त्यसलाई साकार रुप दिन निजी क्षेत्रको वायु सेवा वुद्ध एयरले निकट भवियमै पोखरा-लखनउ उडान संचालन गर्न देखाएको तदारुकतालाई सफल पार्न पोखराका व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट नेपाल सरकारमा तत्काल आवश्यक पहल हुन आग्रह गरेका छन् ।
महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेसंग पोखरा अन्तराष्ट्रिय उडान संचालन सरोकार समितिका संयोजक एवं महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको नेतृत्वमा आएको सो समितिको प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भएको छलफलमा सन् २०१० फेव्रुअरि भित्र उक्त रुटमा व्यवसायिक उडान संचालन गर्ने वुद्ध एयरको कार्ययोजनालाई सहयोग गर्न सरकारले भरपर्दो सुरक्षा व्यवस्था सहित निम्न कार्यहरु तत्काल गर्न जोड दिइयो ।
१) अन्तराष्ट्रिय उडानको लागि चाहिने पूर्धारहरु जस्तै अध्यागमन, भंसार, सुरक्षा व्यवस्था लगायत अन्य आवश्यक व्यवस्थाका लागि तुरुन्तै कामको थालनी हुनु पर्ने,
२) मौजुदा विमानस्थलबाट अन्तराष्ट्रिय उडानमा जाने आउने यात्रुहरुको लागि प्रतिक्षालय, व्यागेज लिनदिने ठाउँ, सुरक्षा चेकजाँच गर्ने ठाउ“, विमानस्थललाई व्यवस्थित र सफा सुग्घर गर्न नागरिक उडडयन प्राधिकरणबाट अविलम्व कार्य थालनी हुनुपर्ने,
३) नेपालका अन्य शहरहरुबाट अन्तराष्ट्रिय उडान दीगो बनाउन, आकर्ष, सहुलियत भाडादार कामय गर्न, ल्याण्डिङ, पार्किङ, नेभिगेशन, ह्याण्डलिङ, तथा यात्रु सेवा शुल्कहरुमा मौजुदा व्यवस्थानै लागू गर्नु पर्ने,
४) उडान समय कम गर्न सकियो भने भाडा पनि कम हुन सक्छ । त्यसैले लखनउबाट पोखरा आउने वेलामा गोरखपुरको आकासबाट भैरहवा आउने व्यवस्था गर्न तत्काल भारत सरकार समक्ष पहल गर्नुपर्ने,
महासंघको पर्यटन तथा नागरिक उड्डयन समितिका सभापति विके श्रेष्ठ सहितको सहभागिता रहेको उक्त भेटका अवसरमा भएको छलफलमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वढ्दो चाप, आउंदो नेपाल भ्रमण वर्ष २०११, तथा मुलुकलाई दोश्रो अन्तराष्ट्रिय विमानस्थलको समेत आवश्यकता रहेको अवस्थामा नेपालको प्रमुख पर्यटकी शहर पोखरा र भारतको प्रमुख शहर लखनउ बीच उडान संचालन गर्न देखाएको मनसायलाई सफल पार्न सरकारका तर्फाट सवै प्रकारको सहयोग हुनु पर्नेमा जोड दिइयो । सो अवसरमा महासंघका उपाध्यक्ष पाण्डेले महासंघको तर्फबाट गर्नुपर्ने सवै प्रकारको सहयोग हुने विश्वास समेत दिलाउनु भयो ।