वीरगंजस्थित नेशनल मेडिकल कलेजको श्रम विवादलाई लिएर एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ र सोही पार्टी निकट भोजपुरा उप-राज्य समितिद्वारा बारा, पर्सा रौतहट जिल्लाका सम्पूर्ण उद्योगहरु वुधवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति सुरक्षाको अत्यन्त कमजोर अवस्था र चर्को लोडसेडिङबाट पिल्सिएका उद्योग प्रतिष्ठानहरुमा श्रम ऐन विपरित अचानक गरिएका यस्ता गतिविधिले उद्योग व्यवसाय लगायत सिंगो अर्थतन्त्रलाईनै वर्वादी तर्फलैजाने होकि भन्नेमा महासंघ चिन्तित हुन पुगेको छ ।
मेडिकल कलेजको विवाद छुट्टै हो । तर कलेज संचालन भैरहनु जवकी कलेजको विवादलाई कारण बनाएर अन्य उद्योग व्यवसाय बन्द गर्नु कुनै हालतमा न्यायोचित होइन । एउटा क्षेत्रमा भएको श्रम विवादलाई माध्यम बनाएर अन्य क्षेत्रका उद्योग व्यवसायहरुलाई वलजफ्ती बन्दक बनाईनु कुनै पनि आधारमा तर्क संगत होइन र यस्ता कार्य अत्यन्त खेदजनक रहेको नेपाल उद्योग वाणिज्य महासंघको ठहर छ । अन्य क्षेत्रको समस्या र विवादको समाधान सोही क्षेत्रमा खोज्न तथा समस्त उद्योग क्षेत्रको वातावरणलाई विथोल्ने कार्य नगरि घोषित अनिश्चितकालिन उद्योग प्रतिष्ठान बन्द कार्यक्रम फिर्ता लिन सम्बन्धित पक्षस“ग आग्रह गर्दै अहिलेको मुलुकको संवेदनशीलतालाई मनन गरि यस्ता कार्यमाथि तत्तकाल हस्तक्षेप गरि उद्योग व्यवसाय सुचारु गर्ने वातावरण वनाई दिन महासंघ मुलुकका जिम्मेवार राजनीतिक दल समक्ष समेत गम्भीर आग्रह गर्दछ । साथै उक्त क्षेत्रमा अनिश्चितकालिन उद्योग प्रतिष्ठान बन्द गराउने कार्यमाथि हस्तक्षेप गरि उद्योग व्यवसाय तत्तकाल खोल्ने वातावरणका लागि सरकारका तर्फाट शीघ्र कदम चाल्न महासंघ आग्रह गर्दछ ।
साथै महासंघ यस्ता भिन्न प्रकृतिका विवादमा सामेल नभई आफ्नो कामप्रति उत्तिकै जिम्मेवारीपूर्वक लाग्न सवै श्रमिकहरुमा आव्हान गर्दै काम छाडेर आन्दोलनमा जाने श्रमिकहरुलाई "नो वर्क नो पे" (No Work No Pay) को व्यवस्था लागू गर्न सम्बन्धित सबैमा जानकारी गराउंदछ ।