नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आर्थिक समृद्धिका लागि मुलुकभित्र लगानीको उचित वातावरण निर्माण, सस्थागत विकास तथा आपसी सहयोग विस्तारका लागि सहकार्य गर्ने उद्देश्यले आज एक कार्यक्रम बीच महासंघ सचिवालयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा महासंघका अध्यक्ष कुशकुमार जोशी र सेजनका अध्यक्ष नारायण सापकोटाले हस्ताक्षर गर्नु भयो ।
१. देशको उद्योग वाणिज्य क्षेत्रको छाता संस्था एफएनसीसीआई र आर्थिक व्यवसायिक विषयमा कलम चलाउने आर्थिक पत्रकारहरुको प्रतिनिधि संस्था सेजनले एक अर्कामा सहयोगीको भूमिका निर्वाह गर्ने,
२. दुवै संस्था बीच हालसम्म रही आएको आपसी सम्पर्क र सम्बन्धलाई अझ सुदृढ गर्न संस्थागत सम्बन्ध स्थापना गर्ने,
३. देशको उद्योग वाणिज्य लगायत आर्थिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि सेजनले आफ्ना सदस्यहरु मार्फत प्रोत्साहनदायी एवं सहयोगात्मक भूमिका खेल्ने र आर्थिक पत्रकारिता विषयमा कलम चलाउने समाजमा आवद्ध आर्थिक पत्रकारहरुको हक हित प्रवर्द्धनका लागि एफएनसीसीआई आफै तथा आफ्ना सदस्यहरु मार्फत सहयोगात्मक र प्रोत्साहनदायी भूमिका निर्वाह गर्ने,
४. मुलुकको आर्थिक व्यवसायिक लगायत समग्र अर्थतन्त्रको विकासमा एफएनसीसीआईले अघि बढाएका कार्यक्रमलाई सेजनले र आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि एवं पेशागत वृत्ति विकासका लागि सेजनले अघि बढाएका कार्यक्रमलाई एफएनसीसीआईले आवश्यक सहयोग पुर्žयाउने,
५. समय समयमा एफएनसीसीआई र सेजनले आपसी सम्पर्क, भेटघाट र छलफल कार्यक्रमहरु गर्दै जाने एवं आवश्यकताका अनुसार आपसी सहयोगका नयाँ नयाँ क्षेत्रहरुको पहिचान र विस्तार गर्दै लैजाने,
६. सेजनका सदस्यलाई स्वदेश तथा विदेशमा तालिम कार्यक्रम आयोजना गर्न एफएनसीसीआईको तर्फबाट अनुकुलता हेरि सहयोग गर्ने,
७. आर्थिक क्षेत्रका विषयमा सेजनका सदस्य मार्फत अध्ययन गराउने, आवश्यकताका तथा विषय (क्षेत्र) को महत्व समेतका आधारमा कम्तिमा वस्तुगत संघमा आवद्व क्षेत्रका उद्योगको अवस्थाको अध्ययन प्रतिवेदन वर्ष भरीमा तयार पार्ने,
८. कार्यक्रमको महत्व, आवश्यकता, वजेटको अवस्था र अनुकुलता समेतलाई हेरेर एफएनसीसीआईको विदेश भ्रमणमा सेजनको सिफारिशमा कम्तिमा एक प्रतिनिधि सामेल गराउने,
९. सेजनले आर्थिक पत्रकारिता पुरस्कार दिन स्थापना गरेको अक्षयकोषमा एफएनसीसीआईको तर्फबाट सहभागीता जुटाउन पहल गर्ने ।