पटक पटक हुने बन्द र आम हडतालको कार्यक्रमबाट उद्योगहरु बन्द नहोउन,शान्ति सुरक्षाको उचित व्यवस्था सहित उद्योग सञ्चालन गर्ने वातावरण कायम गरियोस् भन्ने कुरामा महासंघले वारम्वार जोड दिंदै आएको हो र काम नगरेको दिनको पारिश्रमिक भुक्तानी गर्न नसकिने कुरा पनि महासंघले पहिलेदेखि भन्दै आएको हो । बन्द र हडतालको प्रत्यक्ष र अप्रत्यक्ष मार उद्योगहरुले धान्नै नसक्ने हुंदा बन्दका दिनमा पनि उद्योग सञ्चालन गरिनु पर्ने कुरामा जोड दिइदै आएको छ ।
एकातर्फ बन्दका दिनमा आवश्यक शान्ति सुरक्षाको अभावका कारण उद्योग सञ्चालन गर्न कठिनाई पर्ने र अर्को तर्फ बन्द कार्यक्रमका सहभागीहरुबाट उद्योगमा जवरजस्ती गरी प्रतिष्ठान बन्द गर्न लगाउने,श्रमिक कामदारलाई हाजिर गराई बन्दका कार्यक्रममा लैजाने गरेबाट उद्योगहरु सञ्चालन नहुंदा उद्योगहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको साथै संवेदनशील व्यवसायको रुपमा रहेको पर्यटन क्षेत्र यस्ता बन्द हड्ताल कार्यक्रमबाट थप प्रभावित भइरहेको छ ।
यर्सथ बन्द, हडताल, चक्का जामको कारणले उद्योग सञ्चालन हुन नसकेमा वा कामदारहरुले काम छोडि गएमा वा उद्योग प्रतिष्ठान बन्द गरे/गराएको अवस्थामा श्रमिक कामदार गैर हाजिर भएको ठहर गरी उक्त दिनको पारिश्रमिक भुक्तानी नगर्ने अर्थात No Work No Pay लागू गर्ने ऐक्यबद्धता जनाउंदै उद्योग प्रतिष्ठान सञ्चालनमा बाधा व्यवधान सृजना नगर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायत सम्पूर्ण जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघहरु एवं सम्पूर्ण बस्तुगत संघहरु, होटल संघ नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा सम्बद्ध सबैमा अपिल गरिएको छ ।