प्रमुख औद्योगिक क्षेत्र वारा र पर्सा उद्योगी व्यवसायीहरुले यस क्षेत्रका उद्योग प्रतिष्ठानहरुले श्रम समस्या, लोडसेडिङ, विभिन्न समूहहरुका नाउँबाट भएका चन्दा आतंक, धम्की जस्ता समस्याहरुबाट ग्रसित हुनु परेकाले उद्योग व्यवसाय सुचारु गर्ने वातावरण वनाई दिन आग्रह गरेका छन् ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकरियाको नेतृत्वमा आएको त्यस क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डलले प्रधानमन्त्री, गृहमन्त्रीदेखि सम्बन्धित मन्त्रीहरु, विभागिय प्रमुखहरुसंग भेटघाट पश्चात नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्ष प्रदिपजंग पाण्डे सहित महासंघका पदाधिकारीसंग भेटगरि भ्रमणका क्रममा वारा र पर्सा जिल्लामा उद्योग व्यवसाय सुचारु गर्न आग्रह गरिएको जानकारी गराएको छ ।
प्रतिनिधिमण्डलका नेता सिकरियाले भ्रमणका क्रममा औद्योगिक अशान्ति, चन्दा आतंक, लोडसेडिङले उद्योग व्यवसाय संचालनमा प्रतिकुल प्रभाव पारेकाले तत्काल समस्या समाधानमा राज्यको ध्यान जानुपर्नेमा ध्यानाकर्षण गराएकोले महासंघको तर्फबाट पनि त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।
भंसार, मुअकर, स्थानीय करमा देखिएका प्रक्रियागत जटिलताबाट विभिन्न समस्याहरु पैदा भएकाले सरकारका सम्बन्धित पदाधिकारीहरुलाई यस विषयमा पनि ध्यानाकर्षण गराइएको उहाँले जानकारी गराउनु भयो । सो अवसरमा "नो वर्क नो पे", भंसार, मुअकर, स्थानीय कर, लगायतका विषयमा पनि छलफल भएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष जोशीले प्रतिनिधिमण्डलले भ्रमणका क्रममा उठाएका विषयहरुलाई कार्यान्वयन गराउने क्रममा महासंघले आफनो तर्फबाट पर्याप्त सहयोग गर्ने विश्वास दिलाउंदै औद्योगिक शान्ति कायम गरि उद्योग व्यवसाय सुचारु संचालन गर्ने विषयमा महासंघले पनि सरकार प्रमुखदेखि शान्ति सुरक्षाको जिम्मेवारी लिएको निकायमा वारम्वार आवाज उठाउंदै आएको स्पष्ट पार्नु भयो ।
महासंघको कार्यकारिणी समिति सदस्यहरु प्रदीपमान वैद्य, दिनेश श्रेष्ठ र कुमुद दुगडको समेत सहभागिता रहेको सो छलफलमा उपाध्यक्ष पाण्डेले सरकारका हरेक बैठक, कार्यक्रममा महासंघले शान्ति सुरक्षा, लोडसेडिङ, श्रम समस्या, बन्द हड्तालले औद्योगिक क्षेत्रमा पुर्याएको नोक्सानीका विषयमा जोडतोडका साथ धारणा राख्दै आएको जानकारी गराउनु भयो ।