नेपाल उद्योग वाणिज्य महासंघ र नेपालस्थित थाइ राजदुतावास बीच आज महासंघ सचिवालयमा दुई देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तारका विषयमा भएको छलफलमा नेपालको निर्यात व्यापार वृद्धिमा विशेष जोड दिइएको छ । यसका लागि दुवै मुलुक बीच स्वतन्त्र व्यापार सम्झौता (Free Trade Agreement - FTA) हुनु पर्नेमा जोड दिइयो ।
महासंघका अध्यक्ष कुशकुमार जोशी सहित पदाधिकारीहरु र नेपालस्थित थाई राजदुत म्यारिस स्याङगिआपोङसा (Mr. Maris Sangiampongsa, Ambassador of the Kingdom of Thailand) बीच भएको छलफलमा अत्यन्त न्यून रहेको द्विपक्षीय व्यापारलाई तीव्र पार्नुपर्ने र यसका लागि थाई बजारको माग अनुसार वस्तुहरु उत्पादन गरि निर्यात गर्नु पर्नेमा जोड दिइयो । सो अवसरमा भएको छलफलमा थाइल्याण्डले धेरै देशहरुसंग स्वतन्त्र व्यापार सम्झौता गरि आर्थिक सम्बन्ध विस्तार गरेकाले नेपालसंग पनि यस्तो सम्झौताको आवश्यकता औल्याइयो ।
सो अवसरमा महासंघका अध्यक्ष जोशीले राजदुतको स्वागत गर्नुहुंदै दुई देश बीचको आर्थिक सम्बन्ध विस्तारमा निजी क्षेत्र लालयित रहेको र यसका लागि महासंघले राजदुतावास र थाई निजीक्षेत्रसंग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो ।
जापानबाट उदय भएको एक गाउ“ एक उत्पादन (ओभीओपी) कार्यक्रमबाट थाइल्याण्डले ठूलो सफलता प्राप्त गरेको यसबाट वर्षेनी थाइल्याण्डले ठूलो परिमाणमा वस्तुहरु निर्यात गरि विदेशी मुद्रा आजर्न गरेको सर्न्दर्भमा भर्खर ओभीओपीको शुरुवात गरेको नेपालका लागि थाई अनुभव निकै उपयोगी हुने छलफलमा जोड दिइएको थियो । महासंघका तर्फबाट यसअघि थाई ओभीओपी कार्यक्रमको अध्ययन भई सो सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन तयारी समेत हुंदैछ । बैठकमा राजदुत स्याङगिआपोङसाले ओभीओपीमा थाइल्याण्डले हासिल गरेको "ट्रेड मार्क" नेपालले पनि प्राप्त गर्ने सक्ने बनाउन आफनो देशबाट प्राविधिक सहयोग हुन सक्ने विश्वास दिलाउनु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्य, उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकणिर्कार, कार्यकारिणी समिति सदस्यहरु अशोक तोदी, शंकरप्रसाद पाण्डे, उमेशलाल श्रेष्ठ, आजाद श्रेष्ठ, तुलसीपुर उवासंघका अध्यक्ष दीपेन्द्रकुमार क्षेत्री, नेपाल-थाई उवासंघका अध्यक्ष अजय मुडवरी, महानिर्देशक मेघनाथ न्यौपाने र राजदुतावासका वरिष्ठ अधिकारीहरुको समेत सहभागिता रहेको बैठकमा आपसी आर्थिक सम्बन्ध विस्तारका लागि निजी क्षेत्रबाट व्यापारिक भ्रमणको आदान प्रदान, वीमस्टेक जस्ता आर्थिक मंचहरुका माध्यमबाट द्विपक्षिय आर्थिक सम्बन्ध विस्तारमा जोड दिइयो ।
नेपालले थाइल्याण्डसंग ठूलो व्यापार घाटा व्यहोर्दै आएको छ । सन् २००८/०९ को तथ्यांक अनुसार दुवै मुलुक बीच रु. ६ अर्व ६६ करोड मुल्य बरावरको आर्थिक कारोवार भएकोमा नेपालको रु. ६ अर्व ६१ करोड व्यापार घाटा रहेको छ । व्यापार घाटा बर्षोनी बढ्दो रहेको तथ्यांकहरुले देखाएको छ । यस्तो वस्तुस्थितिमा नेपालले थाइ बजारको माग अनुसारको नेपाली उत्पादनहरु गरि निर्यात गर्नुपर्नेमा जोड दिइएको छ । यसका लागि प्रशोधित खाद्य पदार्थ एवं जडिवूटी निकासीको राम्रो सम्भावना रहेको सो अवसरमा औल्याइएको छ ।