नेपाल र कोरियाका निजी क्षेत्रका पदाधिकारीले दुई बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई तीव्र पार्नुपर्नेमा जोड दिइएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र नेपाल भ्रमणमा रहेको कोरियन उद्योग वाणिज्य संघको पदाधिकारी बीच आज महासंघ सचिवालयमा भएको व्यावसायिक भेटघाटमा सो कुरामा जोड दिइएको हो । सन् २००८/०९ को तथ्यांक अनुसार नेपालको कोरियासंग करिव रु. २ अर्व ९० करोड व्यापार घाटा रहेको छ । व्यापार घाटालाई न्यून गर्न दुवै मुलुकबीच निजीस्तरमा पर्याप्त सहयकार्य हुनु पर्नेमा जोड दिइयो ।
महासंघका अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्षहरु भाष्करराज राजकणिर्कार, प्रदीपजंग पाण्डे, महानिर्देशक मेघनाथ न्यौपाने र कोरियन उवासंघ (The Korea Chamber of Commerce & Industry) का अध्यक्ष क्योङ सिक सोन् ( Kyung Shik Sohn) र उपाध्यक्ष सीओ किम (Seho KIM) बीच भएको व्यासायिक भेटघाटमा दुवै संस्था बीच सन् २००० मा भएको आपसी सहयोग सम्बन्धी सहमती अनुसार द्विपक्षीय आर्थिक व्यापारिक सम्बन्ध विस्तारलाई तिब्र पार्न जोड दिइयो । सो अवसरमा सन् २०१२ मा कोरियामा आयोजना हुने विश्व व्यापार मेला (World Expostion-2012) मा नेपालको सहभागिताका विषयमा पनि छलफल भएको थियो ।
सो अवसरमा उक्त कोरियन उवासंघका पदाधिकारीहरुलाई स्वागत गर्नुहुंदै अध्यक्ष जोशीले आर्थिक विकासका लागि नेपाललाई यतिखेर नयाँ लगानी, नयाँ प्रविधि, नयाँ सोचको आवश्यकता रहेको र नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा लगानीको सम्भाव्यता रहेकोले यी क्षेत्रहरुमा कोरियन लगानीका लागि कोरियन उवासंघका तर्फबाट आवश्यक समन्वय हुन आग्रह गर्नुभयो । वाह्य लगानी, प्रविधि आकर्षणका लागि महासंघले नेपाल सरकारसंग नजिकमा रहेर कार्य गर्दै आएको र सरकारको नीति विदेशी लगानी आकषिर्त गर्ने तर्फप्रेरित रहेको पनि उहाँले स्पष्ट पार्नु भयो ।
कोरियन उवासंघका तर्फबाट अध्यक्ष क्योङले आपसी आर्थिक व्यापारिक सम्बन्धका विषयमा महासंघबाट आएका मुद्दाहरुलाई आफूले महत्वपूर्ण लिई नेपालमा कोरियन लगानी, द्विपक्षीय व्यापार विस्तारमा आफनो संस्थाको तर्फबाट सहयोग गर्ने विश्वास दिलाउंदै महासंघ र कोरियन उवासंघ बीचको व्यवसायिक सहमतीलाई सशक्त रुपमा अगाडी लैजाने विश्वास समेत दिलाउनु भयो ।