जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको छिङदुमा आगामी अक्टोवरमा आयोजना हुने ११ औं चीन अन्तराष्ट्रिय मेला (11th Western China International Fair 2010) मा नेपालको तर्फबाट सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी, महासंघका पदाधिकारीहरु र उक्त अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागिताका लागि निमन्त्रणा गर्न सिचुवान प्रान्तका उपाध्यक्ष ह्वाङ सिआओस्याङ (Hung Xiaoxiang, Vice Governor) को नेतृत्वमा नेपाल आएको १२ सदस्यीय चिनीयाँ प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भएको बैठकमा सो आग्रह गरिएको हो । नेपालले यस अघि पनि उक्त मेलामा महासंघको नेतृत्वमा निरन्तर भाग लिंदै आएको छ ।
उक्त बैठकमा ११ औं चीन अन्तराष्ट्रिय मेलामा नेपालको सहभागिताबाट सिचुवान र नेपाल बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध, लगानीका क्षेत्र पहिचान तथा आपसी सहयोग विस्तारमा थप सहयोग पुग्नुका साथै दुवै देशका निजी व्यवसायी बीचको आपसी सम्बन्ध प्रगाढ हुने धारणा व्यक्त गरियो । बैठकमा चिनीयाँ प्रतिनिधिमण्डलका तर्फबाट चीनले छिट्टै नेपाल-चीन सहयोग सम्बन्धी एक वृहद कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको पनि जानकारी गराइयो ।
सो अवसरमा महासंघका अध्यक्ष जोशीले चिनियाँ प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै नेपाल-चीन गैर सरकारी सहयोग मंचको गत वर्षछिङदूमा सम्पन्न १० औं बैंठक आयोजनामा सिचुवान प्रान्त सरकारबाट प्राप्त सहयोगको सराहना गर्नुहुंदै नेपालले छिङदुमा हुने अन्तराष्ट्रिय मेलामा सक्रिय रुपमा भाग लिने प्रतिवद्धता जनाउनु भयो । उक्त मेलामा सहभागिताबाट अन्तराष्ट्रिय मेला आयोजनामा नेपाललाई नयाँ अनुभवहरु हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्र वीर मालाकार, महासंघको कार्यकारिणी समिति सदस्य भवानी राणा, महासंघको व्यापार मेला समितिका सहसभापति लक्ष्मी गोपाल श्रेष्ठ, महिला उद्यमी महासंघकी अध्यक्ष प्रमिला रिजाल, सिचुवान उद्योग वाणिज्य विभागका महानिर्देशक ली पाई यून (Li Pai Yun) लगायत प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको सो अवसरमा भएको छलफलमा जडीवूटी, कृषि, जलविद्युत, प्राकृतिक सम्पदाको विकास तथा अध्ययन अनुसन्धानमा आफूलाई तीव्र रुपमा विकास गर्दै गएको सिचुवान प्रान्तको छिङदू दक्षिण एशियाका मुलुकहरुसंग भौगोलिकरुपमा समेत नजिकमा रहेको र उक्त शहरबाट काठमाडौं, करा“ची तथा वंगलोरसम्म सिधा हवाई उडान समेत रहेकाले आर्थिक सम्बन्ध विस्तारका लागि त्यत्तिकै सम्भाव्यता रहेको बताइयो ।