स्पेसटाइम नेटवर्कका संचालक तथा प्रवन्ध निर्देशक एवं संचार उद्यमी जमिम शाहको हिजो अपरान्ह लाजिम्पाटको व्यस्तसडकमा दिनदहाडै गोली हानी हत्या गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ स्तव्ध भएको छ । महासंघ निर्लज्ज र कायरतापूर्ण यस्ता आक्रमणको घोर निन्दा एवं भत्सर्ना गर्दछ । सुरक्षाका दृष्टिकोणबाट अत्यन्त संवेदनशील क्षेत्रमा दिनदहाडै उद्यमी व्यवसायी माथि जघन्य आक्रमण हुंदा समेत अपराधीलाई तत्काल पक्राउ गर्न नसक्ने मुलुकको गृह प्रशासनको महासंघ निन्दा समेत गर्दछ ।
सुरक्षा व्यवस्था सुदृढ हुंदै गएको प्रचार सरकारको गृह प्रशासनबाट भएपनि विगतकेही दिनयता यो सहित यस्तै प्रकृतिका राजधानीमा भएका श्रृंङखलावद्ध घटनाबाट राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको र कसैले पनि सुरक्षाको अनुभति गर्न सक्ने वातावरण सृजना नभएको तर्फसम्पूर्ण निजी क्षेत्र चिन्तित भएको छ ।
राजनीतिक खिचातानीकै कारण मुलुक आजसम्म पनि अनिर्णयको बन्दी हुन जांदा अपराधीहरुको मनोवल बढ्न गई यस्ता घटनाहरुमा बृद्धि भएको विश्लेषण महासंघको छ । महासंघ यस्तो अवस्थामा सबैले आ-आफना स्वार्थ र हठलाई त्यागेर राष्ट्र रहेमात्र हामी रहन्छौ भन्ने भावना अनुरुप काम गर्न सबै जिम्मेवार राजनीतिक दलहरुलाई आग्रह गर्दै व्यवसायी शाहको हत्यामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरि उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दछ ।