उद्यमी व्यवसायीको हत्या, अपहरण, धम्की, लोडसेडिङ, बन्द हड्ताल, चक्काजाम, आर्थिक तरलताको अभाव, श्रम समस्याले आक्रान्त निजी क्षेत्रले मुलुकमा उत्पन्न जटिल समस्या समाधानमा सरकारले तदारुकता नदेखाए उद्योग व्यवसाय बन्द गर्ने अवस्था आउने जानकारी गराएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपाल समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको उद्यमी व्यवसायीहरुको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा भेटगरि यस्तै अवस्था अव केही समय रहे मुलुकमा निकै ठूलो संकट आउने पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघको हालै हेटौंडामा सम्पन्न कार्यकारिणी समितिको ११ औं बैठकमा शान्ति सुरक्षा, अपहरण, धम्की, आर्थिक एवं बैकिंक समस्या, विद्युत लोडसेडिङबाट उद्योग व्यवसायमा परेको असर तथा समाधानका विषय सहितको अवधारणा तयार गरि प्रधानमन्त्री समक्ष पेश गर्ने निर्णय अनुसार उक्त भेटघाट भएको हो ।
अर्थ, उद्योग, श्रम, जलश्रोत मन्त्री एवं सचिवहरुको उपस्थितिमा प्रधानमन्त्री समक्ष भएको उक्त भेटघाटमा महासंघका अध्यक्ष जोशीले पछिल्लोपटक मुलुकमा भएको उद्यमी व्यवसायीको हत्या, सांघातिक हमला, धम्की निकै त्रि्र रुपमा बढ्दै जाँदा उद्यमी व्यवसायीहरुमा आतंकको वातावरण सृजना भएको र लगानीको वातावरण पूर्णत ध्वस्त हुने अवस्था आएकोले यसलाई छिटो भन्दा छिटो अन्त्य गर्न आग्रह गर्नुभयो ।
निजी क्षेत्र कर तिर्दै जाने तर सरकारबाट पाउनु पर्ने सुविधाबाट वंचित हुनु पर्ने र उद्यमी व्यवसायीहरु निरिह भएर आफ्नो ज्यानलाई हत्केलामा राखेर हिड्नु पर्ने अवस्थामा सरकारबाट आवश्यक सुरक्षा पाउन नसक्नु दूर्भाग्य भएको बताउंदै अध्यक्ष जोशीले एक महिना भित्र व्यवसायीले राखेका समस्याहरु समाधान गर्न आग्रह गर्दै त्यसो हुन नसके उद्योग व्यवसाय वन्द गर्नुको विकल्प नहुने पनि स्पष्ट पार्नु भयो ।
सो अवसरमा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले महासंघका तर्फबाट विस्तृत सुझाव प्रस्तुत गर्दै निजी क्षेत्रले लामोसमयदेखि माग गर्दै आएको औद्योगिक सुरक्षा बलको गठन तत्काल गर्नु पर्ने,"इण्डष्ट्रियल फ्लाइङ स्क्वाद" (Industrial Flying Squad) को व्यवस्था सहित महासंघ बीच सूचना आदान प्रदान गर्ने निश्चित प्रक्रिया निर्धारण गर्नु पर्ने, आपराधिक समूहलाई ७२ घण्टा भित्रमा पक्राउ गर्ने सुनिश्चितता हुनु पर्ने, राजनीतिका आवरणमा अपराध गर्ने जोसुकैलाई पनि छुट दिन नहुने, आवश्यकता र निश्चित प्रक्रिया तय गरी महासंघले सिफारिश गरेको आधारमा उद्योगी व्यवसायीले चाहेको खण्डमा सुरक्षा दस्ता राख्न पाउने कानूनी व्यवस्था हुनु पर्ने सुझाव राख्नु भयो ।
महासंघका पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठ, उपाध्यक्ष भाष्करराज राजकणिर्कार, महासंघको सल्लाहकार समितिका सदस्यहरु, कार्यकारिणी समितिका सदस्यहरु, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्र वीर मालाकार लगायत प्रतिष्ठित उद्यमी व्यवसायीहरुको सहभागिता रहेको सो भेटघाटमा प्रधानमन्त्री नेपालले निजी क्षेत्रले राखेका गुनासाहरुलाई गम्भीरता पूर्वक लिई समस्या समाधान सहित उद्योग व्यवसाय क्षेत्रलाई राहत दिन विशेष प्याकेज कार्यक्रम ल्याउने विश्वास दिलाउनु भयो । साथै प्रधानमन्त्री नेपालले सम्बन्धित निकायका पदाधिकारीहरु समेतलाई राखी निजी क्षेत्रसंग छिट्टै अर्को चरणको छलफल गरि समस्या समाधान गर्ने दृढता जनाउनु भयो ।