संचार उद्यमी एवं जनकपुर टुडेका प्रकाशक एवं रेडियो टुडेका संस्थापक अरुणकुमार सिंघानियाको यही फागुन १७ गते साँझ अज्ञात समूहरुद्वारा जनकपुरमा गोली हानी हत्या गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ स्तव्ध भएको छ । साथै भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सका अध्यक्ष नागेन्द्र किसन पाम्पड माथि काठमाडौंमा भएको आक्रमणको महासंघ घोर निन्दा एवं भत्र्सना गर्दछ । उद्यमीहरुको यसरी श्रृंखलावद्ध रुपमा भएको आक्रमण र सो आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न नसक्ने मुलुकको गृह प्रशासनको महासंघ निन्दा समेत गर्दछ ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी पारी मुलुकभित्र शान्ति सुरक्षा वहाली गर्न वारम्वार सरकारलाई दवाव दिंदा सरकारका तर्फबाट समयमै कदम नचालिंदाको परिमाण आज मुलुकले भोग्नु परेको छ । राजधानीमा पछिल्ला दिनमा भएका श्रृंङखलावद्ध घटनाबाट राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको र कसैले पनि सुरक्षाको अनुभति गर्न सक्ने वातावरण सृजना नभएको तर्फसम्पूर्ण निजी क्षेत्र चिन्तित भएको छ ।
महासंघ व्यवसायी सिंघानियाको हत्या र उद्यमी पाम्पाड आक्रमणमा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरि उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दछ ।