राजनीतिक स्थायित्व, शान्ति सुरक्षाको भरपर्दो व्यवस्था सहित नेपालको सम्भाव्यताका विषयमा पर्याप्त प्रचार प्रसार हुन सकेमा नेपालमा मलेशियन संयुक्त लगानी एवं प्रविधि आउन सक्ने त्यहा“का व्यवसायीहरुले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद ताम्राकारको नेतृत्वमा महासंघका पदाधिकारीहरु र नेपाल भ्रमणमा रहेको मलेशिया-नेपाल व्यावसायिक परिषद (Malaysia-Nepal Business Council-MNBC) को प्रतिनिधिमण्डलका उपनेता दातो प्रदीपकुमार कुकरिजा (Dato' Pradip Kumar Kukreja, Deputy Mission Leader) को नेतृत्वमा नेपाल भ्रमणमा रहेको मलेशियन व्यवसायीक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भएको बैठकमा सो कुरा बताएका हुन ।
वर्षेनी ठूलो संख्यामा पर्यटक भित्रयाइरहेको मलेशियामा नेपालका विषयमा पर्याप्त प्रचार नभएको र विदेशी च्यानल मार्फत पाएका सुचना तथा जानकारीहरु बन्द हड्ताल अस्थिरता जस्ता पाउंदा त्यसबाट राम्रो संदेश जान नसकेकोले नेपालबाट मलेशियामा रणनीतिक योजना सहित प्रचार प्रसार भएमा पर्यटन, लगानी आकर्षण लगायत आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सफलता प्राप्त गर्न सकिने वताइएको । यस कार्यमा एमएनवीसी जस्ता संस्थाले आवश्यक सहयोग गर्ने विश्वास समेत दिलाएको छ ।
महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गत मंसिर १ देखि ७ गतेसम्म भएको मलेशियाको अध्ययन भ्रमणका क्रममा मलेशियन व्यावसायिक प्रतिनिधिमण्डलले नेपालमा अनुकुल समयमा भ्रमण गर्न दिएको प्रतिवद्धता अनुरुप सो प्रतिनिधिमण्डल नेपालको आर्थिक व्यवसायिक अध्ययन भ्रमणमा आएको हो ।
सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष ताम्राकारले मलेशियन प्रतिनिधिमण्डललाई स्वागत गर्दै हालै महासंघबाट सम्पन्न मलेशियाको अध्ययन भ्रमण नेपालका लागि निकै महत्वपूर्ण भएको र सो क्रममा मलेशियाको उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ बीच आर्थिक सम्बन्ध विस्तारका लागि भएको सहमती (MOU) कोशेढुंगा भएको बताउनु भयो ।
सो अवसरमा प्रतिनिधिमण्डलका उपनेता कुकरिजाले द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन लगायतका विषयमा नेपालका प्रधानमन्त्री सहित मन्त्रीहरुसंग भएको भेटघाट निकै महत्वपूर्ण भएकोले दुवै देशका निजी क्षेत्र बीचको सहकार्यबाट यसलाई फलदायी बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले नेपालका सम्भाव्यताका विषयमा मलेशियामा पर्याप्त प्रचार प्रसार आवश्यक भएकोमा जोड दिनु भयो ।
सो अवसरमा भएको छलफलमा नेपालीको रोजगारीको मुख्य गन्तव्य मलेशियाबाट नेपालले पर्यटन, लगानी, बजार प्रबर्द्धन, व्यवस्थापन, पूर्वाधार विकास, वातावरण संरक्षण, जलश्रोत, मानव संसाधन विकास लगायतका क्षेत्रमा लाभ लिन सक्नेमा जोड दिइएको थियो भने मलेशियन व्यवसायीक प्रतिनिधिमण्लले आपसी लाभका आधारमा दुवै देशमा लगानीका लागि आ-आफना तर्फबाट प्रोत्साहन दायी कार्यक्रम ल्याउनु पर्ने सुझाव राखेका थिए ।
सो अवसरमा महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालका लागि यतिवेला मलेशियाले हासिल गरेको आर्थिक विकासको अनुभव, प्रविधि र सहकार्य आवश्यक भएकोमा जोड दिंदै संयुक्त लगानीका लागि आग्रह गर्नुभयो ।
महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले छोटो अवधिमा आर्थिक विकासमा फड्को मारेको मलेशियाले मूलत उत्पादनमुलक र पर्यटन क्षेत्रमा हासिल गरेको सफलता नेपालका लागि निकै उपयोगी हुने दावी गर्दै नेपालमा लगानीको सम्भाव्यता तथा मलेशियन पर्यटन आकर्षाका लागि मलेशियामा पर्याप्त प्रचार प्रसार गर्न सरकारमा दवाव दिने बताउनु भयो । सो अवसरमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु, उद्योगी व्यवसायीहरु र मलेशियन व्यावसायीक प्रतिनिधिमण्डलका सदस्यहरु बीच आपसी सहकार्यका विषयमा वान टु वान भेटघाट पनि भएको थियो ।