अमेरिकासंगको लगानी र व्यापार सम्बन्ध अभिवृद्धिका लागि संयुक्त रुपमा काम गर्ने उद्देश्यले अमेरिकास्थित नेपाली राजदुतावास, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ बीच हालै अमेरिकामा एक समझदारीपत्र (Memorandum of Understanding - MoU) मा हस्ताक्षर भएको छ ।
नेपाल अमेरिका बीच लगानी, व्यापार सम्झौता वार्ताका लागि वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाको नेतृत्वमा महासंघका अध्यक्ष कुशकुमार जोशी सहितको प्रतिनिधिमण्डलले हालै गरेको अमेरिका भ्रमणका क्रममा भएको उक्त समझदारीपत्रमा नेपाली राजदुत डा. शंकरप्रसाद शर्मा, महासंघका अध्यक्ष जोशी र एनआरएन-ए (NRNA) को तर्फबाट राजेन्द्र बहादुर श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।
नेपालमा विदेशी लगानीका लागि उपलव्ध प्रोत्साहन तथा अवसरहरुको विश्लेषण गर्ने, नेपालमा तुलनात्मक लाभका क्षेत्र तथा अमेरिकामा निर्यात हुन सक्ने नेपाली उत्पादनहरुको पहिचान गर्ने, दुवै देशमा व्यवसाय गरि बसेका एकअर्का देशका व्यवसायीहरुको सम्पूर्ण जानकारी समेटिएको व्यावसायिक डाइरेक्ट्री तयार पार्ने, एनआरएनहरुको सहयोगमा व्यावसायिक साझेदार तथा संयुक्त लगानीका लागि सम्भाव्य क्षेत्रहरुको पहिचान तथा सर्म्पर्क विस्तार गर्न सहयोग पुर्ΕΎयाउने, आपसी हितका लागि आ-आफनो तर्फबाट व्यवसाय, व्यापार प्रवर्द्धनका नविनत कार्यक्रममा संलग्न हुने समझदारी पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरि तीनै पक्षको साझेदारीमा दुई देश बीचको व्यापार तथा लगानी सम्भाव्यताका विषयमा आवश्यक सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, नेपाल वाहिर तथा नेपाल भित्र समेत तीनै पक्षबीच एउटै मंचमा भेला भई आ-आफना नविनतम सोंच, विचार तथा व्यावसायिक योजनाहरु आदान प्रदानका साथै आवश्यक नीतिगत विषयहरुमा व्यवसायिक समुदायलाई सहयोग उपलव्ध गराउने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ ।
भ्रमणका विषयमा महासंघका अध्यक्ष जोशीले अमेरिकी व्यवसायीहरुलाई नेपालमा लगानीका सम्भाव्यता, नीतिगत व्यवस्था, लगानीको वातावरण र यतिखेर विदेशी लगानी तथा नविनतम प्रविधिको अति जरुरी भएको महसुस गराउन भ्रमण निकै फलदायी भएको र यो समझदारी नेपाल अमेरिका बीचको व्यापार, लगानी तथा प्रविधि आकर्षणका सम्भाव्यता पहिचान एवं आगामी दिनमा दुई देश बीच व्यापार तथा लगानी सम्झौतालाई सम्पन्न गर्ने दिशामा महत्वपूर्ण उपलव्धी हुने विश्वास प्रकट गर्नुभयो ।
अध्यक्ष जोशीले नेपालमा व्यावसायिक वातावरण, श्रम सम्बन्ध, नीतिगत व्यवस्था तथा सम्भाव्यताका विषयमा अमेरिकी प्रतिनिधिहरुले निकै रुचीपूर्वक जानकारी लिएको पनि बताउनु भयो ।