नेपाल र संयुक्त अरव इमिरेटस बीच निजी क्षेत्रका माध्यमबाट आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन एवं थप नयाँ सम्भाव्यताको अध्ययनमा यूएईको व्यावसायिक भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल आफ्नो ५ दिने भ्रमण पुरा गरि वुधवार स्वदेश फर्केको छ ।
यूएईस्थित नेपाली राजदुतावासको सक्रिय सहयोग तथा महासंघ र यूएई उवामहासंघ (Federation of UAE Chamber of Commerce & Industry - FUAECCI) को पलहमा भएको उक्त व्यावसायिक भ्रमण आपसी सम्बन्ध विस्तार, नेपालमा यूएईबाट हुन सक्ने आर्थिक सहकार्यका क्षेत्रहरुको पहिचान गराउन सफल भएको छ ।
यूएई सरकार तथा त्यहाँको निजी क्षेत्रबाट समेत अत्यन्त महत्वपूर्ण रुपमा हेरिएको महासंघको व्यावसायिक भ्रमण अवधीमा प्रतिनिधिमण्डलले त्यहाँको वैदेशिक व्यापार मन्त्री लुवाना वीन खलिदा अल इसामी (Lubna Bint Khalid Ai Qasimi, Minister of Foreign Trade of the UAE), यूएई उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष एवं फुजेरा उद्योग वाणिज्य संघका अध्यक्ष सैयद अली खमास (Saeed Ali Khammas, Acting President Federation of UAE Chambers of Commerce & Industry), अवुधावी र दुवई उद्योग वाणिज्य संघका पदाधिकारी, नेपाली राजदुतावास तथा यूएईमा कार्यरत गैरआवासीय नेपालीहरुसंग भेटघाट गरि नेपाल र यूएई बीच आर्थिक सहकार्य, वैदेशिक लगानीमा नेपाल सरकारको नीति, मुलुकको आर्थिक व्यावसायिक विस्तारमा नेपाली निजी क्षेत्रले गरेका प्रयासहरु, नेपालमा जलविद्युत, पूर्वाधार, कृषि, पर्यटन क्षेत्रमा लगानीको सम्भाव्यता, नेपालबाट यूएईमा निर्यात हुन सक्ने वस्तुहरु, नेपालको मुख्य रोजगार गन्तव्यको रुपमा रहेको यूएईमा थप रोजगारीको सम्भाव्यता, दक्ष जनशक्ति उत्पादनमा सहयोग तथा आपसी सहकार्यका लागि आर्थिक कुटनीतिको भूमिका लगायतका विषयमा छलफल गरि त्यहाँको सरकार लगायत निजी क्षेत्रको ध्यानाकर्षण गराउन सफल भएको छ ।
भेटका क्रममा वैदेशिक व्यापार मन्त्री लुवानाले दुई देश बीचको व्यावसायिक भ्रमणका लागि नेपाल उद्योग वाणिज्य महासंघको लामो प्रयासको सराहना गर्दै नेपालीहरु बढी विश्वासिला र लगनशील भएकाले यूएईको सुरक्षा क्षेत्रमा नेपालीहरुको उल्लेख्य संलग्नता रहेको स्पष्ट पार्नु भयो ।
यूएईमा झण्डै डेढ लाखको संख्यामा नेपालीहरु कार्यरत छन् । ती मध्ये झण्डै ७५ प्रतिशत नेपालीहरु सुरक्षा क्षेत्रमा कार्यरत छन् । सन् १९७७ मा दौत्य सम्बन्ध स्थापना भएको यी दुई मुलक बीच निजी क्षेत्रबाट यसरी उच्चस्तरमा भएको यो पहिलो भ्रमण हो । तीन करोड ७३ लाख ६० हजार अमेरिकी डलरको व्यापार घाटा व्यहोरीरहेको नेपालबाट यूएईमा उच्च मूल्यका कृषि उत्पादन जस्तो अलैची, चिया, कफी, अदुवा, ताजा फूलहरु, हाते गलैचा, हस्तकलाका सामग्रीहरु निर्यातको ठूलो सम्भाव्यता रहेको भ्रमणको क्रममा पाइएको छ ।
भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त अरव इमिरेट्स उद्योग वाणिज्य महासंघ (FUAECCI) बीच दुई देशको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका लागि आपसी सहकार्य गर्ने उद्देश्यले यूएईको फुजेरा इमिरेट्समा सहमतीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।
संयुक्त अरव इमिरेट्सका लागि नेपाली राजदुत अर्जुन वहादुर थापाको समुपस्थितिमा वैशाख १४ गते महासंघको प्रतिनिधिमण्डलका नेता एवं महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे र संयुक्त अरव इमिरेट्स उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष एवं फुजेरा उद्योग वाणिज्य संघका अध्यक्ष सैयद अली खमास (Saeed Ali Khammas, Acting President, Federation of UAE Chambers of Commerce & Industry) ले सहमतीपत्रमा हस्ताक्षर गर्नुभयो ।
१० वुदे सहमतीपत्रमा दुई देश बीचको आर्थिक व्यावसायिक सम्भाव्यताका विषयलाई पहिचान गरी आपसी सहकार्यका माध्यमबाट अगाडी बढाउने, पहिचान भएका सम्भाव्य क्षेत्रहरुमा एक अर्का देशका उद्योग प्रतिष्ठान र व्यवसायीहरुलाई आपसी सम्झौताका माध्यमबाट नजिकमा ल्याएर कार्य गर्न प्रोत्साहित गर्ने, आर्थिक सहयोग तथा व्यावसायिक आदान प्रदानका हितमा कार्य गर्ने यसका लागि सूचनाको आदान प्रदान, वजार पहिचान, नीति तथा कानून, वैदेशिक व्यापार, उत्पादन, निर्यात तथा लगानीसंग सम्बन्धी प्रकाशन एवं सूचनाहरुको आदान प्रदान, मेला महोत्सवको आयोजना, आर्थिक सभा सेमिनार तथा त्यससंग सम्बन्धि गतिविधिहरु संचालन, आर्थिक व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान गर्ने सहमतीपत्रमा उल्लेख छ । सहमतीपत्रको मर्मलाई कार्यान्वयन गरी यसबाट दुवै देशका व्यावसायिक समुदाय तथा जनताहरुलाई लाभान्वित गर्न नियमित बैठक, भेटघाटको आयोजना एवं आवश्यकताका आधारमा व्यावसायिक परिषदको गठन गर्ने सहमतीपत्रमा उल्लेख छ ।
फुजेरामा आयोजित व्यावसायिक बैठकलाई सम्वोधन गर्नुहुदै नेपाली राजदुत थापाले नेपाली निजी क्षेत्रबाट पहिलोपटक यूएईमा भएको व्यावसायिक भ्रमण एवं सहमतीपत्रमा हस्ताक्षरले आपसी दौत्य सम्बन्धलाई आर्थिक सम्बन्धमा रुपान्तरण गर्न सहयोग पुर्याउने विश्वास प्रकट गर्नुभयो । राजदुत थापाले निजी क्षेत्र बीच नजिकको सम्बन्ध स्थापना गरि आर्थिक सम्बन्ध विस्तार, लगानी एवं प्रविधि विस्तार एवं विकासका अनुभवहरु आदान प्रदानका माध्यमबाट दुवै देशका जनताहरुलाई लाभान्वित गराउन यो सहमतीपत्र एक महत्वपूर्ण माध्यम हुने बताउनु भयो ।
महासंघका उपाध्यक्ष एवं प्रतिनिधिमण्डलका नेता एवं महासंघका उपाध्यक्ष पाण्डेले राजनीतिक उपलव्धीलाई संस्थागत गर्ने प्रयासमा निरन्तर रुपमा अघि बढी रहेको नेपाललाई यतिखेर आर्थिक विकासका लागि नयाँ लगानी, नयाँ सोच, नयाँ प्रविधि आवश्यकता रहेको बताउनु भयो । टोली नेता पाण्डेले दुवै महासंघ बीचको सहमती एक महत्वपुर्ण उपलव्धी भएको जनाउंदै सहमतीपत्रको भावनालाई यथार्थतामा लैजान महासंघले आफनो समकक्षी यूएईउवामहासंघ निरन्तर सम्पर्कमा रहेर कार्य गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
नियमित हवाई उडान, नेपालबाट यूएईमा पर्याप्त वस्तुहरु निर्यात गर्न सकिने सम्भाव्यता रहंदा रहंदै पनि नेपाल निकै ठूलो व्यापार घाटामा रहेको स्पष्ट पार्नु हुंदै उपाध्यक्ष पाण्डेले सरकारको वैदेशिक लगानी नीति, अन्तर्राष्टिय वजार सम्भाव्यता, प्राकृतिक श्रोतको पर्याप्तता आदि कारणबाट नेपाल विदेशी लगानीका लागि निकै उर्वरभूमि रहेकोले कृषि, पर्यटन, पूर्वाधार विकास, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न यूएई सरकार एवं व्यावसायिक समुदायलाई आग्रह समेत गर्नुभयो ।
यूएइउवामहासंघका कार्यवाहक अध्यक्ष सैयद अली खमासले नेपाल उद्योग वाणिज्य महासंघसंग आर्थिक व्यावसायिक क्षेत्रमा सहकार्य गर्न प्राप्त भएको यो सफलतालाई आफनो संस्थाले ऐतिहासिक उपलव्धीको रुपमा लिएको बताउनु भयो । कार्यवाहक अध्यक्ष खमासले दुवै महासंघ बीचको सहमतीलाई आपसी सम्बन्ध विस्तारका माध्यमबाट आर्थिक सहकार्यलाई अगाडी बढाउने महत्वपूर्ण प्रयासको संज्ञा दिनुभयो ।
महासंघको प्रतिनिधिमण्डलले फुजेराको फ्रि पार्ट जोन पुगी त्यहाँका केही कम्पनीहरुको अवलोकन समेत गरेको थियो । पूर्वाधारको क्षेत्रमा तिब्र रुपमा विकास गर्दै गएको फुजेरा यूएईको अवुधावी, दुवई पछिको तेश्रो विकसित इमिरेट्स हो । औद्योगिक, व्यवसायिक तथा सेवा सम्बन्धी महत्वपूर्ण परियोजनाहरु जस्तो सामुद्रिक वन्दरग्राह, अन्तर्राष्टिय विमानस्थल, अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र, फ्रि जोन आदि सुविधाका कारण पर्याप्त लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यापार वृद्धिमा अग्रणी स्थान हासिल गर्दै गएको छ । फुजेरालाई यूएई सरकारले पेटोलियम भंडारण तथा प्रशोधनका लागि मुख्य केन्द्रको रुपमा विकसित गर्दै लगेको छ । लगानीकर्ताले सत् प्रतिशत लगानी तथा नाफा आफूले चाहेका वखत फिर्ता लैजान सक्ने सुविधा, कर मुक्त सुविधा, पर्याप्त भौतिक पूर्वाधारको सुविधा दिएका कारण फुजेराले निरन्तर आर्थिक विकास गर्दै गएको छ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले दुवई फल्वार सेन्टर (पुष्प तथा पुष्पजन्य पदार्थहरु) चिस्यान केन्द्रका अवलोकन समेत गरेको थियो । चिस्यान केन्द्रले विभिन्न एशियाली मुलकहरुबाट पुष्प तथा पुष्पजन्य पदार्थहरु संकलन गरि यूरोप तथा अमेरिका निर्यात गर्ने गर्दछ ।
प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु दिनेश श्रेष्ठ, अशोक शर्मा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष माइकल कर्माचार्य, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष तिलक बहादुर रानाभाट, नेपाल आर्थिक पत्रकार समाजका महासचिव प्रदीप चापागाई र महासंघका वरिष्ठ अधिकृत विदुरचन्द्र लामिछाने हुनुहुन्थ्यो ।