एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गत २०६७ साल बैशाख १९ देखि जारी राखेको आम हडताल आम नेपाली जनताको चाहना अनुरुप स्थगन गर्नु एक सकारात्मक पहल भएको यस नेपाल उद्योग वाणिज्य महासंघको ठहर छ । यस कदमबाट एकातर्फ आम हडतालको कष्टबाट जनता मुक्त भएका छन् भने अर्को तर्फ देशका प्रमुख राजनैतिक दलहरु बीच आम सहमतिका लागि वातावरण पनि सहज भएको हामीले ठानेका छौं । नेपाल उद्योग वाणिज्य महासंघ लगायत महासंघ संग आवद्ध संघ/संस्थाहरु, पेशाकर्मी एवं आम नागरिक समाजले राजनैतिक सहमतिको कुनै विकल्प नभएको कुरा दोहोर्žयाउंदै आएका छन् । प्रमुख राजनैतिक दलहरु बीच आम सहमति बनोस्, वार्ताबाट नै सबै समस्याको समाधान होस्, गतिरोधको अन्त्य होस्, सबैले आफ्नो दलगत स्वार्थ माथि उठेर देश र जनताका पक्षमा सहमति गरुन, नेपालले चांडै नै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने संविधान पाओस् र द्रुतत्तर आर्थिक सामाजिक विकासको पथमा मुलुक लम्कियोस् भन्ने आम नेपालीको चाहनालाई प्रतिविम्बित गर्दै यस महासंघले विगत केहि समय यता अन्तरक्रिया, वृहत शान्ति सभा लगायतका बिभिन्न कार्यक्रमहरुको संयोजन गर्दै आएको र राजनैतिक दलहरु बीचको वार्ताको सहजकर्ताको भूमिकालाई निष्पक्ष, विश्वसनिय र पारदर्शी रुपमा प्रस्तुत गर्दै आएको सबैमा विदितै छ ।
नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योगी व्यबसायीका अनेक संस्थाहरु, स्वतन्त्र पेशाकर्मी र तीनका संस्थाहरु, मानव अधिकारवादीहरु, सञ्चारकर्मीहरु, लगायत आम नागरिकबाट राजनैतिक सहमतिका लागि विगत केहि समय यता भएका प्रयाशले सहमतिका लागि वातावरण वनाउन योगदान दिंदै आएको ठानेका छौं । हाम्रा प्रयाश कसैको समर्थन वा विरोधमा नभई शान्ति, सहमति र समृद्धिका लागि परिलक्षित भएको पनि दोहोर्žयाउन चाहन्छौं । शान्ति र सहमतिका लागि महासंघको अग्रसरतामा २०६७ बैशाख २४ गते, शुक्रवार सम्पन्न वृहत शान्ति सभामा ऐक्यवद्धता जनाउने र सहकार्य गर्ने बिभिन्न संघ संस्थाहरु - शान्ति र विकासका लागि स्वतन्त्र पेशाकर्मीहरुको संजाल पापड र यसका सदस्यहरु, नेपाल चेम्बर अफ कमर्श, होटल संघ नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ, गैरआवासीय नेपाली संघ लगायत सम्पूर्ण संघ संस्था, उद्योगी व्यबसायी र आम नागरिकहरुमा यो महासंघ सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै त्यसै दिन यस महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरुको अग्रसरतामा शान्ति र सहमतिका लागि भएका बिभिन्न कार्यक्रमका सहयोगी एवं सहभागीहरुमा पनि धन्यवाद व्यक्त गर्दछ । साथै शान्ति भेलामा सहभागी हुने आम नेपाली दाजुभाई दिदिबहिनीहरुमा हार्दिक आभार व्यक्त गर्दछ । सहमति र सहकार्यबाट समस्या समाधानका लागि वातावरण बनाउन महासंघ सदैव प्रयत्नशिल रहने प्रण पुनः दोहोर्žयाउंदछ ।