मुलुकको दीगो विकास र स्थायित्वको लागि राजनीतिक सहमति अपरिहार्य भएको पृष्ठभूमिमा संविधान सभाको म्याद एक वर्षथप गर्न राजनीतिक दलहरु बीच भएको सहमति र सम्झौताले आम नागरिकमा पुनः आशाको संचार हुन गएको छ । देशमा द्वन्द र भय व्याप्त हुन सक्ने आशंका बीच जुन सहमति भएको छ त्यसलाई नेपाल उद्योग वाणिज्य महासंघले एक सकारात्मक प्रयास र स्वागत योग्य निर्णयको रुपमा लिएको छ ।
एकातिर समयमा संविधान बन्न नसक्नु र अर्कोतिर ऐतिहासिक संविधान सभाको म्याद समाप्त हुंदै जान लागेको अवस्था तथा राजनीतिक दलहरु बीच पनि असमझदारी बढ्दै गएबाट निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको हैसियतले महासंघले पनि जतिसक्दो छिटो राजनीतिक दलहरु बीच आपसी सहमति कायम गरी संविधान सभाको म्याद थप गर्ने विषयमा सक्दो प्रयास गर्दै आएको परिप्रेक्ष्यमा संविधान सभाको म्याद थप भई गतिरोध अन्त्य गर्न राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, राजनीतिक दलका शीर्षस्थ नेताज्यूहरु एवं नागरिक समाजबाट भएको सकारात्मक भूमिकाको महासंघ हार्दिक सराहना गर्दछ ।
साथै राजनीतिक दलहरु बीचको समझदारी अनुसार शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई प्राथमिकता दिई निर्धारित समय अघिनै तीव्र गतिमा संविधान निर्माण गरी गणतन्त्रलाई संस्थागत गर्दै अर्थतन्त्रलाई अघि बढाई सबै प्रकारको पछौटेपनबाट मुलुकलाई मुक्त गर्ने अभियानमा सम्बन्धित सबै पक्षबाट उच्च प्राथमिकता सहितको प्रतिवद्धता रहने विश्वास महासंघले लिएको छ ।