»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















प्रधानमन्त्री तथा प्रमुख राजनीतिक पार्टी शीर्षस्थ नेताहरुसंग उद्यमी व्यवसायीहरुद्वारा भेट गरि निजी क्षेत्रका समस्या प्रस्तुत (२०६७/२/३०)


नेपाल उद्योग वाणिज्य महासंघको ४४ औं वाषिर्क साधारण सभामा भाग लिन मुलुक भरबाट आएका उद्यमी व्यवसायीहरुको स्वागतमा प्रधानमन्त्री माधव कुमार नेपालबाट आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट एवं चियापान कार्यक्रमको आयोजना गरियो ।

महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा उद्योगी व्यवसायीहरुले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा वाणिज्य मन्त्रालयबाट भएको पछिल्लो निर्णयलाई स्थगन गरी पुरानै व्यवस्था अनुसार जारी गर्ने निर्णय गर्न, शान्ति सुरक्षाको व्यवस्थालाई चुस्तदुरुस्त राखी उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा महासंघका अध्यक्ष जोशीले ४४ औं वार्षिक साधारण सभामा उठेका प्रमुख विषयहरुका सम्बन्धमा प्रधानमन्त्री नेपाललाई जानकारी गराउनु हुंदै साधारण सभाको निर्णयानुसार उत्पत्तिको प्रमाणपत्र पुरानै व्यवस्था अनुसार एकद्वार प्रणाली मार्फत महासंघबाटै जारी गर्ने सम्बन्धमा निर्णय हुन प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो । चन्दा आतंक, अपहरण, हत्या लगायतको विगविगीबाट शान्ति सुरक्षा पूर्वक जीवन यापन गर्न पाउने र व्यापार, व्यवसाय गर्न पाउने स्वतन्त्रता माथिनै अतिक्रमण भएको आजको अवस्थामा सुरक्षा व्यवस्थालाई थप मजबुत पार्न अध्यक्ष जोशीले प्रधानमन्त्री समक्ष आग्रह गर्नु भयो । सो अवसरमा सहभागीहरुले विभिन्न जिल्लाहरुमा सिण्डिकेट, कार्टेलिङ्ग, जोरविजोर प्रथाबाट ढुवानीमा उत्पन्न समस्या प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । त्यसै गरी व्यवसायीहरुले जिल्लाहरुमा चन्दा आतंक तिब्र भएको, भूमिगत समूहहरुबाट त्रासको वातावरण सृजना गरिएकोले सुरक्षाको प्रत्याभूति दिन आग्रह गर्दै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा वाणिज्य मन्त्रालयको निर्णयलाई तत्काल फिर्ता लिई पुरानै व्यवस्था अनुसार जारी हुन आग्रह गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री नेपालले उत्पत्तिको प्रमाणपत्र विषयमा महासंघ लगायत यसका सदस्य संघ/संस्थाहरुबाट उठाइएका विभिन्न सुझाव एवं बहुद्वार प्रणालीबाट जारी गर्दा हुन सक्ने व्यवहारिक कठिनाई प्रति आफु पनि अनभिज्ञ नरहेकोले यस सम्बन्धमा चांडै समस्या समाधान गर्ने विश्वास दिलाउंनु भयो । प्रधानमन्त्री नेपालले उद्यमी व्यवसायीहरुले राखेका समस्या एवं सुझाव प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनु हुंदै सिण्डिकेट तथा कार्टेलिङ्ग प्रथा कानूनतः खारेज भईसकेको तर व्यवहारमा लागू भईरहेको सुनिन आएको सम्बन्धमा सरकारले तत्काल त्यस सम्बन्धमा आवश्यक कारवाही अगाडी बढाउने विश्वास दिलाउनु भयो । नेपाल सरकारका मन्त्रीहरुको समेत सहभागिता रहेको सो अवसरमा प्रधानमन्त्री नेपालले ढिलासुस्ती हटाउन र आफ्ना कार्यप्रणाली पारदर्शी बनाई सरकारी सेवा चुस्त/दुरुस्त बनाउन सरकार दृढ रहेको र कसैले यसलाई वेवास्ता गरेको पाइएमा सूचना प्रदान गरी सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नु भयो ।

त्यसैगरी महासंघको ४४ औं वाषिर्क साधारण सभामा भाग लिन आएको व्यवसायीहरुको सम्मानमा एकिकृत नेकपा माओवादी र नेपाली कांग्रेसबाट आज छुट्टाछट्टै स्वागत एवं भेटघाट कार्यक्रमको आयोजना भयो । ती दुवै कार्यक्रमहरुमा महासंघका अध्यक्ष जोशीले राजनीतिक पार्टिहरु बीच सहमतिको माध्यमबाट मुलुकलाई तत्काल निकास दिन आग्रह गर्नुहुंदै उद्योग व्यवसाय संचालन गर्ने न्यूनतम वातावरण कायम गरिदिनु पर्ने, निश्चित समयसम्मका लागि बन्द, हड्ताल, चक्काजाम लगायतका कार्यक्रमहरु नगर्ने प्रतिवद्धता राजनीतिक पार्टिहरुबाट आउनु पर्ने, आर्थिक एजेण्डामा न्यूनतम साझा सहमति पार्टिहरु वीच हुनुपर्ने, महासंघले वर्षौदेखि जारी गर्दै आएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थालाई पूर्ववत् नै कायम गर्ने कार्यमा सहयोग गरिनुपर्ने, द्वन्दबाट विस्थापित उद्योग व्यवसाय पुनर्स्थापना गर्न विशेष सहुलियत सहितको प्याकेज ल्याउन सहयोग गर्नुपर्ने लगायत सुझाव राख्नु भयो ।

एनेकपा (माओवादी) द्वारा आयोजित कार्यक्रममा सो पार्टी अध्यक्ष पुष्पकमल दाहालले निजी क्षेत्रले उठाएका समस्याका समाधानमा जिम्मेवार राजनीतिक दलको हैसियतले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । साथै उहाँले निजी क्षेत्रको छाता संस्थाको हैसियतले महासंघले वर्षौ देखि जारीगर्दै आएको उत्पत्तिको प्रमाणपत्र महासंघ मार्फत नै जारी हुनुपर्ने आफ्नो पार्टिको धारणा रहेको स्पष्ट पार्नु भयो । उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराईले वित्तिय पूंजीलाई औद्योगिक पूंजीको विकासमा उपयोग गर्न उत्पादनशील क्षेत्रमा लगानी हुनु पर्ने जोड दिंदै बन्द, हड्ताल, चक्काजामलाई बन्द गर्न राष्ट्रिय सहमति बन्नु पर्नेमा जोड दिनु भयो ।

त्यसैगरि नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा सो पार्टी कार्यवाहक सभापति सुशिल कोइरालाले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याएर मुलुकलाई शान्ति समृद्धि तर्फ लैजान आफ्नो पार्टी पनि प्रतिवद्ध रहेकोले निजी क्षेत्रका सुझावलाई आफुले गम्भिर रुपमा लिएको र सोही अनुसार आफ्नो पार्टिले समस्या समाधानमा सहयोग गर्ने विश्वास दिलाउंनु भयो । साथै उक्त पार्टी नेता डा. रामशरण महतले आफ्नो पार्टी निजी क्षेत्रको अग्रहणी भूमिका रहेको अर्थतन्त्रको पक्षको रहेको र निजी क्षेत्रलाई सोही अनुसार अगाडी लैजाने नीति आफ्नो पार्टीको रहेको र उत्पत्तिको प्रमाणपत्रका सम्बन्धमा महासंघसंग सल्लाह गरी समस्याको समाधान खोजिनु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष, सल्लाहकार समितिका सदस्यहरु, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यकारिणी समितिका सदस्यहरु र साधारण सभामा भाग लिन आउनु भएका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.