प्रधानमन्त्री चयन प्रक्रियाले मूर्त रुप पाउन नसक्दा मुलुक अनिर्णयको बन्दी बनेको छ र परिस्थिति अझ विग्रेर जाने होकि भन्नेमा निजी क्षेत्र अत्यन्त चिन्तित भएको छ । गत साउन ५ र ७ गते व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री चयन प्रक्रियाले कुनै ठोस उपलव्धी हासिल गर्न नसकेपछि आन्तरिक एवं वाह्य रुपमा समेत मुलुकको छवीमाथिनै नराम्रो संदेश गएको र यही क्रम जारी रहेमा नेपालको सम्पूर्ण निर्णय प्रक्रिया माथिनै प्रश्न चिन्ह खडा हुने तर्फ नेपाल उद्योग वाणिज्य महासंघ सचेत छ ।
दोश्रो जनआन्दोलन मार्फत छोटो अवधीमै ठूलो उपलव्धी हासिल गरि विश्वमा राम्रो संदेश दिन मुलुक सफल भएको थियो । तत्पश्चात समयमा संविधान बनेर देश आर्थिक विकासको पक्षमा द्रुततर गतिले लम्किएला भन्ने आशा पलाएको थियो । तर समयमा संविधान निर्माण गरि जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउने जिम्मा पाएका राजनीतिक दलहरु बीच समझदारी बन्न नसक्दा थपिएको समयभित्र पनि संविधान नवन्ने होकि भन्ने संका समेत उत्पन्न भएको छ । समयमा प्रधानमन्त्री चयन नभएकाले सरकारको पूर्ण बजेट आउन सकेको छैन । कतिपय नीतिगत कार्यहरु अघि बढ्न सकेका छैनन र विकास निर्माणको काम समेत अवरुद्ध भएको छ । नया सरकार वन्न नसक्दा कर्मचारी तन्त्रमा समेत नकारात्मक असर परेको छ । मुलुकको आर्थिक स्थिति अझ नाजुक भएको छ । हाम्रा वाह्य साझेदारहरु हेर र पर्खको स्थितिमा छन् । यस्तो स्थितिमा प्रधानमन्त्री चयन गर्ने जस्तो अत्यन्त संवेदनशील विषयमा भएको यो ढिलाई र खिचातानीले कतै मुलुकको छवीमा नै आँच आउने त होइन भन्ने तर्फआम जनतामा चिन्ता र भय व्याप्त भएको छ ।
यर्सथ सरकार निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याई मुलुकलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन महासंघ व्यवस्थापिका संसद, माननीय सभासद्हरु, जिम्मेवार राजनीतिक दल र तीनका नेताहरु समक्ष हार्दिक आग्रह गर्दछ ।