नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले कंचनपुर जिल्ला भीमदत्त नगरपालिकाको वडा नं ११ स्थित बाढी ग्रस्त क्षेत्रको निरीक्षण गर्नु भएको छ ।
कंचनपुर उद्योग वाणिज्य संघले हिजो महेन्द्रनगरमा राखेको स्वागत तथा सम्मान कार्यक्रम पश्चात अध्यक्ष बाढीग्रस्त क्षेत्र भुजेला पुग्नु भएको थियो । बाढी पीडितहरुको लागि नेपाल उद्योग वाणिज्य महासंघले विगत वर्षरुदेखिनै सहयोग गर्दै आइरहेको र यस वर्षपनि महासंघले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
सुदूरपश्चिम क्षेत्रमा पर्यटनको अत्यधिक सम्भावना रहेको र पर्यटन वर्ष २०११ लाई लक्षित गरी यस क्षेत्रमा लगानी गर्न तथा वाह्य पर्यटकहरुलाई भित्र्याउन महासंघले आवश्यक कार्य गर्ने पनि अध्यक्ष जोशीले बताउनु भयो ।
बाढी प्रभावित क्षेत्र निरीक्षणमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु आजाद श्रेष्ठ र नरवहादुर चन्द तथा संघका पूर्व अध्यक्षहरु यज्ञराज भट्ट, ऋषिराम खरेल, माधव प्रसाद भट्ट र शिवराज पाण्डेय एवं पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
त्यस अघि संघद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा संघले यस क्षेत्रका उद्योगी व्यवसायीहरुको समस्या, औद्योगिक क्षेत्र स्थापनाका लागि पहल तथा नेपाल भारत सिमामा हुने समस्या, महेन्द्रनगर व्रहमदेव लिंकरोड स्थापना आदि महत्वपूर्ण विषयहरुलाई समेटेर एक ज्ञापनपत्र समेत वुझाएको थियो । सघका अध्यक्ष हेम विक्रम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव जंग वहादुर मल्लले पनि बोल्नु भएको थियो ।