राष्ट्रपति डा. रामवरण यादवको सम्मानमा अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry and Commerce - ACFIC) द्वारा आज संघाईस्थित ओरियन्टल रिभरसाइड होटलमा आयोजित अन्तरक्रिया एवं दिवाभोज कार्यक्रम सम्पन्न भयो ।
राष्ट्रपति डा. यादवको गरिमामय समुपस्थितिमा आयोजना भएको उक्त समारोहलाई सम्वोधन गर्नुहुंदै पर्यटनमन्त्री शरदसिंह भण्डारीले संघाईमा आयोजित संघाई वर्ल्ड एक्स्पोमा नेपाल मण्डपमा ७५ लाख आगन्तुकहरुले अवलोकन गरेकोमा आफू अत्यन्त उत्साहित भएको र यो संख्या उक्त एक्स्पो हेर्न आउने कूल संख्याको करिव १० प्रतिशत रहेको सन् २०११ को नेपाल भ्रमण वर्षमा नेपालमण्डप अवलोकन गर्ने मध्ये १० प्रतिशत मात्रले नेपाल भ्रमण गरेपनि नेपाल भ्रमण वर्षको लक्ष्य सहजै प्राप्त हुने धारणा राख्नु भयो । यतिनै संख्यामा पर्यटकहरुलाई नेपाल भित्र्याउन सकेमा नेपालको पर्यटनले निकै गतिलिने विश्वास गर्नुभयो । उहाँले सन् २०११ मा बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणको निम्तोपनि दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले राष्ट्रपति समक्ष दुवै देशका निजी क्षेत्र एकठाउँमा वसेर यो कार्यक्रम आयोजना गरेकोमा एसीएफआइसी प्रति आभार प्रकट गर्दै नेपालमा हालैसम्पन्न नेपाल चीन गैर सरकारी सहयोग मन्चको बैठकमा नेपालको जलविद्युत विकासमा दुवै देशका लगानीकर्ताहरु बीच भएको सहमतीको स्मरण गराउनु भयो । अध्यक्ष जोशीले जलविद्युत सवैभन्दा बढी सम्भाव्यता रहेको क्षेत्र भएकाले यसमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गर्दै यसका लागि महासंघले आफनो तर्फबाट पूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत दिलाउनु भयो ।
सो कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै अखिल चीन उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष छुवान चचु (Quan Zhezhu, First Vice Chairman of All China Federation of Industry and Commerce - ACFIC) ले चीनको अत्यन्त नजिकको घनिष्ठ छिमेकी मुलुकको हिसावमा नेपालको आर्थिक सामाजिक विकासमा लाग्न चिनियाँहरु निकै उत्साहित भएका र यसलाई धेरै क्षेत्रबाट भन्दा पनि सवैभन्दा बढी सम्भावित जलविद्युत विकासमा मात्र सहयोग केन्द्रीत गरेर जान आफूहरुले चाहेको वताउनु भयो । उहाँले सम्माननीय नेपाली राष्ट्रपतिको सम्मानमा स्वागत एवं अन्तरक्रिया कार्यक्रम गर्न पाएकोमा खुशी पनि प्रकट गर्दै आफ्नो समकक्षी नेपाली संस्था नेपाल उद्योग वाणिज्य महासंघप्रति आभार प्रकट गर्नु भयो ।
राष्ट्रपति डा. रामवरण यादव चीनको संघाईमा हुने संघाई एक्सपो-२०१० को समापन समारोहमा भाग लिन अहिले मित्र राष्ट्र चीनको संघाई भ्रमणमा हुनुहुन्छ । राष्ट्रपतिको सम्मानमा आयोजत स्वागत कार्यक्रममा महासंघका पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठ लगायत नेपालबाट हाल चीनमा जानु भएका विभिन्न व्यवसायीहरु सम्मिलित हुनुहुन्थ्यो ।