नेपाली उद्यमी व्यवसायी तथा मलेशियन उद्यमी व्यवसायी बीच नेपाल मलेशिया व्यापार विस्तार, नेपालको पर्यटन, लगानी एवं प्रविधि विकासमा मलेशियन लगानी आकर्षणका विषयमा आज काठमाडौंमा नेपाल मलेशिया व्यवसायिक परिषदको बैठक सम्पन्न भयो । बैठकमा नेपालको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी तथा मलेशियाको नेतृत्व नेपाल मलेशिया व्यवसायिक परिषदका अध्यक्ष पर्दिप कुमार कुकरिजा (Pardip Kumar Kukreja, President, Malaysia Nepal Business Council-MNBC) ले गर्नुभएको थियो ।
महासंघ र नेपाल मलेशिया उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा मलेशिया-नेपाल व्यवसायिक परिषदका अध्यक्ष पर्दिप कुमार कुकरिजाको नेतृत्वमा नेपाल भ्रमणमा आएको मलेशियन व्यवसायिक प्रतिनिधिमण्डलसंग आयोजित उक्त बैठकमा मलेशियन लगानी आकर्षणका लागि नेपालमा राजनीतिक स्थायित्व सहित सम्भाव्य क्षेत्रहरुका वारेमा मलेशियामा अझ बढी प्रचारप्रसार हुनुपर्ने सुझाव दिइयो । नेपालमा सम्भाव्यता रहेका जलश्रोत, मानव शंसाधन विकास, पूर्वाधार निर्माण, कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मलेशियन लगानी आकर्षणका लागि बैठकमा महासंघका तर्फबाट आग्रह भएपछि नेपालमा राजनीतिक स्थायित्व भएमा मलेशियनहरु लगानी गर्न इच्छुक रहेको बताइयो ।
नेपाल र मलेशियाको अर्थतन्त्रमा घरेलु तथा लघु उद्यमको हिस्सा निकै ठूलो रहेकोले यस क्षेत्रमा मलेशियाले हासिल गरेको अनुभव एवं प्राप्त प्रगति नेपालका लागि पनि निकै लाभदायी हुने हुदा मेलशियनहरु अनुभव आदान प्रदानका लागि इच्छुक रहेको धारणा बैठकमा राखियो । आफूभन्दा निकै ठुलो मुलुक भारतको पूर्वाधार विकासमा यतिखेर मलेशियाको करिव ५ विलियन अमेरिकी डलर लगानी रहेको उदाहरण दिंदै मलेशियन प्रतिनिधिमण्डलले अनुकुल वातावरण भएमा नेपालमा पनि त्यस्तै लगानी आउन सक्ने धारणा राखेको थियो ।
सो अवसरमा "नेपालमा लगानीका अवसरहरु" विषयमा प्रस्तुती दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले राजनीतिक अवस्था त्यति सहज नभएपनि नेपालमा लगानीको वतावारण भने छिमेकी देशहरुको तुलनामा अहिले पनि अनुकुल भएको स्पष्ट पार्नुभयो । नेपाल सरकार विदेशी लगानी नीतिका विषयमा अत्यन्त उदार रहेको नेपाली निजी क्षेत्रपनि नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताका लागि आवश्यक सवै प्रकारको सहयोग गर्न तयार रहेकोले विना संकोच नेपालमा लगानी गर्न मलेशियनहरुलाई आग्रह गर्नुभयो । नेपालको जस्तो हावापानी अन्य कुनै मुलुकमा नभएको, प्राकृतिक सुन्दरताले समेत भरिपूर्ण नेपालमा कृषि, पर्यटन, जलश्रोत, स्वास्थ्य पर्यटन जस्ता क्षेत्रहरुमा लगानी गर्न आव्हान गर्दै महासंघका तर्फबाट गर्ने सवै प्रकारको सहयोग गर्ने विश्वास दिलाउनु भयो । एक तथ्यांक अनुसार नेपाल र मलेशिया बीच ठूलो व्यापार असन्तुलन छ । आ.व. सन् २००९/१० को तथ्यांक अनुसार नेपालको मलेशियासंग करिव रु.४ अर्व ९ करोड ६९ लाख ७३ हजारको व्यापार घाटा रहेको छ । यो व्यापार घाटालाई न्यून गर्न नेपालबाट मलेशियामा निर्यात गर्न सक्ने वस्तुहरुको पहिचान सहित त्यसको विकास गर्नुपर्नेमा बैठकमा महासंघको तर्फबाट जोड दिइयो ।
थप फोटोको लागि कृपया यहाँ क्लिक गर्नु होला
बैठकको अध्यक्षता गर्नुहुदै महासंघका अध्यक्ष जोशीले महासंघले गत वर्ष आफ्नो कार्यकारिणी समितिको बैठक मलेशियामा आयोजना गरेको स्मरण गर्दै मलेशिया-नेपाली बस्तुको लागि राम्रो बजार हुन सक्ने र मलेशियामा कार्यरत नेपालीहरु नेपालमा फर्किए पछि पुनः काममा लगाउन सकिने यथेष्ट सम्भावना रहेको र उनीहरु मलेशियन उद्योगहरुलाई बढी लाभदायक भएकाले सरकारले राम्रो वातावरण बनाएमा र शान्ति बहाली भएमा नेपालमा मलेशियाली उद्योगहरु "रि लोकेट" गर्न सक्ने सम्भावना यथेष्ट रहेको पनि वताउनु भयो । यी सवै सम्भाव्यताका विषयमा महासंघले मलेशियाको उद्योग वाणिज्य महासंघ र मलेशिया नेपाल व्यवसायिक परिषद जस्ता संस्थाहरुसंग नजिकमा रहेर कार्य गरिरहेको र भविष्यमा पनि गर्दै जाने विश्वास दिलाउनु भयो ।
करिव अठार सदस्यीय मलेशियन व्यावसायिक प्रतिनिधिमण्डलका नेता एवं मलेशिया नेपाल व्यवसायिक परिषद्का अध्यक्ष कुकरिजाले नेपालका लघु, घरेलु तथा साना उद्योग, पूर्वाधार विकासमा मलेशियन लगानी आकर्षण हुन सक्ने भन्दै यसका लागि नेपालमा लगानीको अनुकुल वातावरण वन्नुपर्नेमा जोड दिनुभयो । व्यवसायिक भ्रमणको संख्याभन्दा पनि कति परियोजना ल्याउन सकियो त्यो महत्वपूर्ण हुने भन्दै उहांले यस बीचमा नेपालमा सात वटा मलेशियन लगानीमा परियोजना स्थापना भैसकेको र छिट्टै यसमा विस्तार हुने जानकारी गराउनु भयो ।
महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारको पनि उपस्थिति रहेको सो बैठकको प्रारम्भमा नेपाल मलेशिया उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरुको रोजगारको मुख्य गन्तव्य मलेशियासंग नेपालको आर्थिक व्यवसायिक सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।