नेपालको भ्रमणमा रहनु भएका विश्व व्यापार संगठनका उपमहानिर्देशक हर्ष भि सिंह (Harsha V. Singh, Deputy Director General, WTO) र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी बीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो ।
भेटका अवसरमा महासंघका अध्यक्ष कुशकुमार जोशीले उपमहानिर्देशक सिंहको स्वागत गर्नुहुंदै महासंघले मुलुकको उद्योग व्यवसायको विकासमा खेलेको भूमिका तथा नेपाल डव्लूटीओको सदस्य लिनु अघि र सदस्यता पश्चात डव्लूटीओ मापदण्ड अनुसार नेपाली उद्योग व्यवसायको विकासमा निर्वाह गर्दै आएको भूमिकाका विषयमा जानकारी गराउनु भयो ।
सो अवसरमा नेपाल जस्ता अल्पविकसित मुलुकहरुको हितका लागि सहयोग गर्न अपिल गर्दै नेपालको क्षमता विकासमा आवश्यक आर्थिक एवं प्राविधिक सहयोग हुनुपर्नेमा जोड दिइयो । साथै निजी क्षेत्रको क्षमता विकास गरि सरकारसंग साझेदारीमा काम गर्ने वातावरण वन्नु पर्ने सो अवसरमा जोड दिइयो ।
महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष सुरज वैद्य, उपाध्यक्षहरु भाष्करराज राजकणिर्कार र प्रदीपजंग पाण्डे, कार्यकारिणी समिति सदस्यहरु प्रदीपमान वैद्य, कुमुद दुगड, दिनेश श्रेष्ठ, अनुप मल्ल र महानिर्देशक हेमन्त दवाडीको पनि सहभागिता रहेको सो अवसरमा उपमहानिर्देशक सिंहले नेपालको भ्रमण गरि नेपालले आर्थिक व्यावसायिक लगायतको विकासका लागि प्रयासहरु तथा हालका चुनौतीहरुको वारे जानकारी हासिल गर्ने मौका पाएको र डव्लुटीओका तर्फबाट नेपाललाई आफूले गर्न सकिने सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
नेपाली निजी क्षेत्रले व्यापार प्रवर्द्धन गर्ने खालका परियोजना ल्याउन सुझाव दिंदै नेपालको निर्यात विकास हुने खालका परियोजनाहरु विकास भएमा आफूले कुनै न कुनै रुपमा सहयोग गर्ने विश्वास दिलाउनु भयो ।