रोल्पा उद्योग वाणिज्य संघले रोल्पा जिल्लाको उद्योग, व्यवसाय र स्थानीय आर्थिक विकासका लागि आवश्यक पूर्वाधार विकासमा नेपाल उद्योग वाणिज्य महासंघले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
संघका अध्यक्ष किशोर आचार्यको नेतृत्वमा विभिन्न उद्योग वाणिज्य संघहरुको भ्रमणका क्रममा महासंघमा आएको रोल्पाका उद्यमी व्यवसायीहरुको प्रतिनिधिमण्डलले जिल्लाको उद्यम व्यवसायको विकासका लागि विस्थापित वैकहरुलाई पुनर्स्थापना गर्ने, नयाँ विकसित वजारमा बैंकहरुको शाखा विस्तार गर्ने, खानीजन्य उद्योगहरुको स्थापना गर्ने, कृषिलाई व्यवसायिकरण गर्ने, पर्यटन विकासका संभाव्यतालाई उजागर गर्ने, संघ सचिवालयका कर्मचारीलाई राजश्व सम्बन्धी आवश्यक तालीमको व्यवस्था गर्ने, संघको सचिवालय सुदृढिकरणमा सहयोग गर्न माग गरेको छ ।
विकसित र समृद्ध उद्योग वाणिज्य संघहरुको भ्रमण गरि ती संघहरुको सफलतालाई आफ्नो संघमा कार्यान्वयवन गर्ने र स्थानीय आर्थिक विकासमा विकसित संघहरुले गरिरहेका कार्यक्रमहरु जस्तै कार्यक्रमहरु आफ्नो जिल्लामा पनि संचालन गर्ने वातावरण बनाउने उद्देश्यले भ्रमण गरिएको सो अवसरमा प्रतिनिधिमण्डलले जानकारी गरायो ।
भेटघाटका क्रममा महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकार र प्रदीपजंग पाण्डेले संघले उठाएका मागहरुलाई महासंघले सम्बोधन गर्ने विश्वास दिलाउनु भयो । साथै उपाध्यक्षद्वयले पछिल्लो पटक उद्योग वाणिज्य संघहरुका गतिविधिहरु निकै तिब्र भएकाले नेपालमा "चेम्बर मुभमेन्ट" निकै अगाडी बढेको महसुस हुन थालेको बताउंदै रोल्पा जिल्लाको आर्थिक, उद्योग, व्यवसाय, पर्यटन, कृषि विकासका लागि संघले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनु भयो ।
महासंघको कार्यकारिणी समितिका सदस्यद्वय आजाद श्रेष्ठ र निरक केसीले पनि वोल्नु भएको सो भेटघाट कार्यक्रममा संघका अध्यक्ष आचार्यले रोल्पालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन, "टिम वर्क" मा काम गर्ने संस्कारको विकास गर्न, अगाडी आएका चुनौतीहरुलाई सामना गर्दै त्यसलाई अवसरमा रुपान्तरण गर्न, संघको दीगो आर्थिक श्रोतको विकास गर्न विकसित संघहरुको सफलता अध्ययन तथा व्यवसायीहरु बीच साझेदारी र सहयोग बढाउन भ्रमण भएको स्पष्ट पार्दै भ्रमण अत्यन्त उपलव्धीहरु मुलक भएको र भ्रमणका उपलव्धीलाई लिपिवद्ध गरि संघको विकासमा लागू गर्ने आफनो योजना सुनाउनु भयो ।
सो अवसरमा हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नरवहादुर रोकाय, महासंघका महानिर्देशक हेमन्त दवाडी तथा वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।