मध्यपूर्वी देशहरु खासगरि ट्यूनिशिया, इजिप्ट, बहराइन, लिविया लगायतका देशहरुमा हाल देखापरेको राजनीतिक उथलपुथलबाट ती देशहरुमा रहेका नेपालीहरुमा पर्न गएको मानवीय समस्या प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
खासगरि यतिखेर लिवियाको अवस्था अत्यन्त भयावह पूर्ण रहेको र अझै पनि धेरै नेपालीहरु अत्यन्त जोखिमको अवस्थामा त्यही रहनु परेको स्थितिप्रति महासंघ थप चिन्तित भएको छ । करिव १६ सय भन्दा बढी नेपालीहरु कार्यरत लिवियाबाट चारसय भन्दा बढी नेपालीहरु फर्कि सकेका र अरुकतिपय फर्कने क्रममा रहेको जानकारी महासंघलाई प्राप्त भएको छ । अझै आधा जसो नेपालीहरु लिवियामै रहन बाध्य छन् । यस्तो विषम परिस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार, कुटनीतिक नियोग लगायत वैदेशिक रोजगारसंग सम्बन्धित निकायहरुलाई आ—आफ्नो क्षेत्रबाट जिम्मेवारी तत्काल निर्वाह गर्न हार्दिक आग्रह गर्दछ ।
१. लिवियामा रहेका नेपाली कामदारहरुको सुरक्षित अवतरणका लागि नेपाल सरकारबाट वैदेशिक रोजगार व्यवसायी संघ समेतको सहयोग लिई तत्काल पहल गरियोस । लिवियामा नेपालको आफनै नियोग नभएकाले अन्तराष्ट्रिय आप्रवासन संगठन (IOM), संयुक्त राष्ट्र संघ र मित्रराष्ट्रहरुका नियोगहरुको समेत सहयोग लिई नेपालीहरुको तत्काल उद्धार गरियोस,
२. सुरक्षाका लागि लिवियाका छिमेकी मुलुकहरुमा पुगेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने आवश्यक व्यवस्था तत्काल गरियोस,
३. स्वदेश फर्केकाहरुको उचित व्यवस्थापन एवं क्षतिपूर्तिका लागि रोजगारदिने कम्पनी, पठाउने कम्पनी तथा वैदेशिक रोजगार व्यवसायी संघ समेतको संयुक्त प्रयासमा तत्काल पहल थालियोस,
४. ती देशहरुमा हाल देखा परेको राजनीतिक उथलपुथल नजिकका अन्य देशहरुमा समेत फैलन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै नेपाल सरकारबाट यस सम्बन्धमा निजी क्षेत्रसंग बसेर तत्काल स्पष्ट नीति सार्वजनिक गरियोस,
५. यस्तो विषम परिस्थितिलाई सम्वोधन गर्न राज्यका तर्फबाट ठोस नीति तत्काल घोषणा गरियोस र नेपालको काबुबाहिरको परिस्थितिका कारण फर्कन बाध्य नागरिकहरुलाई दिइने सेवा, क्षतिपूर्ति लगायतका विषयमा तत्काल नीतिको घोषणा गरियोस र यस्तो स्थितिमा राज्यसहित सबै सरोकारवालाहरुको भूमिका र जिम्मेवारी समेत प्रष्ट गरियोस,
अन्त्यमा, नेपाल उद्योग वाणिज्य महासंघ विपत्तिको यस घडीमा आफ्नो तर्फबाट पुर्žयाउनु पर्ने सवै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास दिलाउंदै मुलुकको कावुबाहिरको यस परिस्थितिमा सबैलाई संयमतापूर्वक अगाडी बढ्न आग्रह समेत गर्दछ ।