उद्योग प्रतिष्ठानहरुले धान्नै नसक्ने गरि झण्डै तीन गुणाले न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राखी हेटौंडा, विराटनगर, बीरगञ्ज लगायतका स्थानमा उद्योग व्यवसाय बन्द गराईएकोमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघले औपचारिक तथा अनौपचारिक रुपमा सरकार र ट्रेड यूनियनहरुसंग न्यूनतम पारिश्रमिक का विषयमा वार्ताका लागि पहल गर्दै आएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अभिसन्धि, नेपालको प्रचलित श्रम कानून, अन्तर्राष्ट्रिय प्रचलन अनुसार मुद्रा स्फिति, मुलुकको आर्थिक स्थिति, उत्पादकत्व र उद्योग प्रतिष्ठानहरुको तिर्न सक्ने क्षमताका आधारमा वार्ताबाट पारिश्रमिक निर्धारण गर्नका लागि महासंघ सदा तत्पर छ । तर विभिन्न स्थानमा विरोधका कार्यक्रम एवं उद्योग प्रतिष्ठानको सञ्चालनमा अवरोध ल्याई मुलुकका उद्योग प्रतिष्ठानहरु र औद्योगिक प्रतिष्ठान रहेका क्षेत्रहरुमा अराजकताको स्थिति देखा परेको अवस्था प्रति महासंघ चिन्तित छ ।
महासंघ मुल्यवृद्धिको दरलाई मूल आधार मानी न्यूनतम पारिश्रमिक बढाउन तयार छ, तर गैर कानुनी रुपमा बन्द अवरोध खडागरि दवावमा सम्झौता गराउने प्रचलनको अन्त्य गर्न महासंघ आव्हान गर्दछ । उद्योग प्रतिष्ठानहरु गैर कानुनी रुपमा बन्द हुंदा कामदार कर्मचारी बन्द अवधिको पारिश्रमिकबाट बंचित हुनुपर्ने, उद्योग व्यवसायलाई ठूलो घाटा हुने र समग्रमा राष्ट्रिय अर्थतन्त्रनै धरासायी हुने अवस्था सृजना हुने स्मरण गराउंदै हाल बन्द गरिएका उद्योग प्रतिष्ठानहरु आजैका मितिबाट संचालनमा ल्याई चालु वार्तालाई सार्थक निष्कर्षमा पुर्žयाउन महासंघ सम्बन्धित सबैमा गम्भीर आग्रह गर्दछ ।