ताप्लेजुंग उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष कुमार खतिवडा आज विहान अज्ञात समूहको आक्रमणबाट गम्भिर घाइते हुनु भएको खवरले नेपाल उद्योग वाणिज्य महासंघ स्तव्ध भएको छ । महासंघ यस्ता कायर तथा सांघातिक आक्रमणको घोर निन्दा एवं भत्सर्ना गर्दछ ।
हिजो सांझ फुङलिङको भेटेनरी चोकमा व्यवसायीसंग चन्दा माग गरेको र सो विषयमा आज विहान बसेको व्यवसायीहरुको भेलाले सुरक्षाको माग गर्दै सदरमुकामका बजार पसल बन्द गर्ने निर्णय गरेको विषयमा जिल्ला प्रहरी कार्यालयमा छलफल गरी फर्कदै गर्दा उहां माथि आक्रमण भएको थियो ।
शान्ति सुरक्षा भएन, उद्योग व्यवसाय गर्ने वातावरण बनाई देउ भनि निजी क्षेत्रले सरकारसंग वारम्वार आग्रह गर्दा समेत सरकारबाट यस सम्बन्धमा पहल नहुंदा आज आपराधिक चरित्रका व्यक्तिहरुको मनोवल उच्च हुन गई व्यवसायीहरु माथि यसरीनै सांघातिक आक्रमण हुन गरेको ठहर महासंघको छ । शान्ति सुरक्षा वहाल गरि यस्ता आपराधिक समूहरुलाई पत्ता लगाई तत्काल कानूनको कठघरामा ल्याउन नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार, सम्बन्धित निकायसमक्ष गम्भीर आग्रह गर्दछ ।
साथै महासंघ घाइते ताप्लेजुङ उवासंघका अध्यक्ष खतिवडाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।