प्रतिष्ठानमा काम गर्ने कामदार कर्मचारीहरुको पारिश्रमिक वृद्धि लगायतका विषयमा नेउवामहासंघ, नेपाल उद्योग परिसंघ लगायतका रोजगारदाताहरु र ट्रेड यूनियन महासंघहरु नेपाल ट्रेड यूनियन महासंघ, नेपाल ट्रेड यूनियन कांग्रेस-स्वतन्त्र र अखिल नेपाल ट्रेड यूनियन महासंघ वीच निरन्तर वार्ता र छलफल भई २०६७ चैत्र १० गते श्रमिक कामदार कर्मचारीहरुको पारिश्रमिक वृद्धि लगायतका विषयमा सहमति भएको कुरा सम्बन्धित सवैलाइ अवगतै छ ।
रोजगारदाता र ट्रेड यूनियन प्रतिनिधिहरु वीच सम्पन्न यो सम्झौताको कार्यान्वयनबाट मुलुकको औद्योगिक वातावरण सुधार हुने तथा श्रमिक कामदारहरुलाई पनि फाईदा हुने कुरामा द्विविधा हुनु पर्दैन भन्ने हाम्रो धारणा छ ।
लोडसेडिङ्ग, चर्को वैंक व्याजदर, वेला वेलामा हुने बन्द हड्ताल आदिबाट उद्योग व्यवसाय संकटग्रस्त रहेको अवस्थामा पनि मूल्य वृद्धिका कारण श्रमिक कामदारको जीवन यापनमा आएको कठिनाइलाई मनन गरी कामदारहरुको पारिश्रमिकको सम्झौता गरिएको हो । श्रमिक कामदारको पारिश्रमिक वृद्धिसंगै श्रम क्षेत्रमा विद्यमान अन्यौल समाप्त भई उद्योग व्यवसायको सुसंचालनको साथै मुलुक तर्फअग्रसर हुने अपेक्षा गरिएकोमा प्रमुख औद्योगिक क्षेत्र सुनसरी मोरङ्ग कोरिडोर र वारा पर्सा कोरिडोरका केही ट्रेड यूनियनहरुको नाममा उद्योगहरुमा चैत्र ११ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरी उद्योग प्रतिष्ठान बन्द गराइएको विषयलाई यस महासंघले अत्यन्त गम्भिरतापूर्वक लिएको छ ।
उद्योग बन्द हुंदा उद्योगी व्यवसायीलाई मात्र होइन, स्वयं कामदार उपभोक्ता र सरकारले समेत नोक्सानी व्यहोर्नु पर्दछ । बन्द, हड्ताल जारी रहंदा मुलुकको अर्थतन्त्र नै धरासायी हुने र मजदूर कर्मचारी कानूनको रित नपुर्याई गरिएको हडतालको अवधिको पारिश्रमिकबाट बञ्चित हुने कुरामा सम्बन्धित सवैको ध्यानाकर्षण गराउन चाहान्छौं ।
हामी कामदारको गुनासो प्रति संधै संवेदनशील रहने गरेका छौं, कुनै पनि समस्याको साधान शान्तिपूर्ण ढंगले सामाजिक ढंगबाट खोज्नु पर्दछ भन्ने हाम्रो मान्यता रही आएको छ । उद्योगनै बन्द गरी आन्दोलनको माध्यमाट समाधान खोज्ने प्रक्रिया र पद्धतिले उद्योग तथा कामदार दुवैको हित नहुने निश्चित छ । यर्सथ हामी आन्दोलनरत सम्पूर्ण श्रमिक कामदारलाई आ-आफ्नो काममा गई उद्योग व्यवसाय संचालन गर्न हार्दिक अपिल गर्दछौं । सरकारसंग पनि शान्ति सुरक्षा प्रदान गरी उद्योग सञ्चालन गर्ने वातावरण बनाई दिन अपिल गर्दछौं । यस्तो बन्द र हडतालको अवस्था कायम रहने हो भने स्थायी रुपमा नै उद्योग बन्द गर्नु पर्ने र बैंकको सावां व्याज लगायत सबै आर्थिक व्ययभार व्यहोर्न नसकिने कुरा तर्फ पनि सम्बन्धित सबैको ध्यान आकर्षण गर्दछौं । हडताल जारी नै रहे यसबाट हुने सम्पूर्ण हानि नोक्सानी यस्तो अवस्थासिर्जना गर्ने पक्षबाट व्यहोरिनु पर्ने कुरा पनि प्रष्ट पार्न चाहान्छौं ।