नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्री सुरज वैद्यलाई निवर्तमान अध्यक्ष कुशकुमार जोशीले आज महासंघ सचिवालयमा पद तथा गोपनियताको सपथ गराउनु भयो । त्यसैगरि नवनिर्वाचित अध्यक्ष वैद्यले नवनिर्वाचित उपाध्यक्ष तथा कार्यकारिणी समिति सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भयो ।
त्यसैगरि नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायत कार्यकारिणी समितिका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत पवनकुमार ओझाले प्रमाणपत्र प्रदान गर्नुभयो ।
आजै महासंघ सचिवालयमा सम्पन्न नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट महासंघको वरिष्ठ उपाध्यक्षमा भाष्करराज राजकणिर्कार निर्वाचित हुनु भएको छ । कार्यकारिणी समिति सदस्यद्वय भाष्करराज राजकणिर्कार र कुमुदकुमार दुगड बीच वरिष्ठ उपाध्यक्षको पदमा भएको निर्वाचनमा राजकणिर्कार सो पदमा निर्वाचित हुनु भएको हो ।
कार्यकारिणी समितिको बैठकले महासंघको ४५ औं वाषिर्क साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने महासंघका निवर्तमान पदाधिकारी, कार्यकारिणी समिति सदस्य, सदस्य संघ/संस्थालाई धन्यवाद दिने निर्णय गर्यो । साथै बैठकले महासंघको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा मुख्य निर्वाचन अधिकृत सहित निर्वाचन अधिकृतहरुलाई विशेष धन्यवाद दिने निर्णय समेत गरेको छ ।
यस अघि चैत्र २८ र २९ गते सम्पन्न महासंघको ४५ औं वाषिर्क साधारण सभाबाट महासंघको अध्यक्षमा सुरज वैद्य, उपाध्यक्षहरुमा भवानी राणा, प्रदीपजंग पाण्डे, पशुपति मुरारका सहित कार्यकारिणी समिति सदस्यहरु निर्वाचित हुनु भएको थियो ।
त्यसअघि आजै विहान नवनिर्वाचित अध्यक्ष वैद्यले महासंघ सचिवालयलाई निर्देशन दिंदै महासंघले सदस्यहरुको चाहना र माग अनुसारको सेवा उपलव्ध गराउनु पर्ने भएकाले सदस्यहरुको आवश्यकता र माग अनुसारको सेवा दिन सचिवालयले कार्ययोजना ल्याउन निर्देशन दिनु भयो ।
नवनिर्वाचित अध्यक्ष वैद्यले वर्तमान नयां नेतृत्वले श्रम, उर्जा, निजी क्षेत्रका आर्थिक एजेण्डा लगायतका महत्वपूर्ण विषयहरुमा तत्काल कार्य थालनी गर्ने स्पष्ट पार्दै महासंघले राष्ट्रिय महत्वपूर्ण विषयमा "प्रो एक्टीभ" को भूमिकामा रहेर कार्य गर्ने बताउनु भयो ।
त्यसअघि नवनिर्वाचित अध्यक्ष वैद्यलाई महासंघका महानिर्देशक हेमन्त दवाडीले सम्पूर्ण कर्मचारीहरुको तर्फबाट महासंघ सचिवालयमा स्वागत गर्नु भएको थियो ।