क्षेत्री समाज नेपाल नामबाट आव्हान गरिएको पश्चिमाञ्चल बन्दको क्रममा बन्द आयोजकहरुले आज पोखरा ओद्योगिक क्षेत्रभित्र पसि पोखरा नुडल्स प्रा.लि., पोखरा फुड, गोसाली प्याकेजिङ, ताजा पाउरोटी, फेवा पाउरोटी, फिसटेल डेरी लगायतका उद्योग प्रतिष्ठानमा तोडफोड गरि क्षति पुर्याइएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछ ।
करिव ३ दर्जनको संख्यामा हातमा रड, लाठी तथा चिरपट लिएर आएका उदण्ड जमातबाट उद्योग प्रतिष्ठानका पर्खाल नाघी उद्योग परिसरभित्र पार्किङ गरेर राखेका गाडी, मोटर साइकल, मेशिनरीहरु, अफिस तथा कारखानाका झ्याल तथा ढोकाहरु तोडफोड गर्नुको साथै उद्योगका कामदार कर्मचारीहरुलाई हातपात गरि सख्त घाइते बनाई लाखौको क्षति समेत पुर्याइएको छ । बन्द सदाको लागि बन्द हुनुपर्ने माग राख्दै आएको महासंघ यस्ता विकास विरोधी गतिविधिहरुले राष्ट्रको जीर्ण अर्थतन्त्रलाई अझ संकटको खाडल तर्फ लैजाने कुरातर्फ सवैको ध्यानाकृष्ट गर्दछ ।
आफ्ना अधिकारको माग गर्नेले मुढेवल देखाएर होइन, सार्वजनिक वहस, छलफल चलाएर रचनात्मक दवावबाट पनि पुरा गर्न सकिन्छ । जवरजस्ती रुपमा तोडफोड गर्ने, नोक्सानी पुर्याउने, आम जनतालाई दुख दिंदैमा माग सम्वोधन हुने कदापी होइन । यस्ता ध्वंसात्मक हुन खोज्नेहरुलाई रचनात्मक रुपमा आफना मागहरु राख्न समेत सुझाव दिंदै बन्दकर्ताहरुले नोक्सानी पुर्याएका उद्योग प्रतिष्ठानहरुमा भएको क्षतिको तत्काल क्षतिपूर्ति दिलाउन महासंघ गम्भीर आग्रह समेत गर्दछ ।
साथै बन्द आयोजना गरिएका दिनमा हुन सक्ने सम्भावित आक्रमणलाई ध्यानमा राखी औद्योगिक सुरक्षाको भरपर्दो व्यवस्था गरिनु पर्ने माग महासंघ, सरकार समक्ष गर्दछ ।