नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित महासंघका पदाधिकारीसंग नेपालका लागि फ्रान्सेली राजदुत जाँ चाल्र्स दमार्कि (Jean Charles Demarquis) ले हिजो महासंघ सचिवालयमा भेट गर्नुभयो । भेटका अवसरमा नेपाल फ्रान्स बीच निजीस्तरबाट आर्थिक व्यावसायिक सम्बन्ध विस्तार तथा लगानी प्रवर्द्धनमा विशेष जोड दिइयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार, उपाध्यक्षहरु भवानी राणा, पशुपति मुरारका, कार्यकारिणी समिति सदस्य चन्द्र ढकाल, महानिर्देशक हेमन्त दवाडीको सहभागिता रहेको सो अवसरमा राजदुतले आगामी अक्टोवरमा फ्रेन्च व्यवसायिक प्रतिनिधिमण्डलबाट नेपालको भ्रमण हुन लागेको जानकारी गराउंदै उक्त अवसरमा दुवै देशका निजी क्षेत्र बीच भेटघाट तथा बैठकको आयोजना गरि नेपालमा फ्रान्सेली लगानी तथा आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि महासंघ समक्ष आग्रह गर्नुभयो । साथै उहांले भारतमा लगानी गरिरहेका फ्रान्सेली लगानीकर्ताहरु मध्ये केहीलाई मात्र नेपालमा लगानीका लागि आकषिर्त गर्न सकिएमा नेपालको आर्थिक विकासमा निकै ठूलो सघाउ पुग्न सक्ने धारणा राख्नु भयो ।
सो अवसरमा राजदुत दमार्किको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले नेपाल फ्रान्स बीचको दौत्य सम्बन्ध निकै प्रगाढ भएपनि आर्थिक सम्बन्ध त्यति सुदृढ हुन नसकेको सन्दर्भमा राजदुतबाट दुई देशबीचको आर्थिक, व्यापारिक सम्बन्ध विस्तार तथा लगानी प्रवर्द्धनका लागि भएको पहलको सराहना गर्नुभयो । सन् २००९-१० को तथ्यांक अनुसार नेपालले रु. १ अर्व १५ करोडको नेपाली वस्तु फ्रान्सतर्फनिर्यात गरेको छ भने रु. १ अर्व ६६ करोड मुल्य वरावरको वस्तुहरु फ्रान्सबाट आयात गरेको छ ।
नेपालमा उर्जा, खाद्य प्रशोधन, पूर्वाधार विकास, सहरी योजना विकासमा फ्रान्सेली लगानीको आवश्यकता रहेको जनाउंदै भारतमा लगानी गरिरहेका फ्रान्सेली लगानीकर्ताहरुसंग उपयुक्त समय मिल्न सकेमा नेपाली उद्यमी व्यवसायीहरु भेट गर्न इच्छुक रहेको समेत स्पष्ट पार्नुभयो । साथै उहांले महासंघका तर्फबाट छिट्टै हुन लागेको रसिया भ्रमणका क्रममा समय मिलेमा पेरिसको समेत भ्रमण गरि व्यवसायिक भेटघाट गर्न सकिने राजदुतलाई जानकारी गराउनु भयो ।
राजदुत दमार्किले नेपालको पूर्वाधार, उर्जा विकासमा फ्रान्सेली लगानी आउन सक्ने तर्फजोड दिंदै राजदुतले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरुको पहिचानका लागि महासंघसंग आग्रह समेत गर्नुभयो ।