नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकार र नेपालका लागि संयुक्त अरव इमिर्ेटसका राजदुत मोहमद सुल्तान अव्दुल्ला अल अवासी (Mohamed Sultan Abdalla Al Owais, Ambassador, Embassy of the UAE, New Delhi) बीच आज महासंघ सचिवालयमा भएको भेटघाट एवं छलफलमा नेपाल र यूएई बीच आर्थिक सहकार्य, नेपालमा जलविद्युत, पूर्वाधार, कृषि, पर्यटन क्षेत्रमा लगानीको सम्भाव्यता, नेपालबाट यूएईमा निर्यात हुन सक्ने वस्तुहरु, नेपालको मुख्य रोजगार गन्तव्यको रुपमा रहेको यूएईमा थप रोजगारीको सम्भाव्यता, दक्ष जनशक्ति उत्पादनमा सहयोग तथा आपसी सहकार्यका लागि आर्थिक कुटनीतिको भूमिका लगायतका विषयमा विस्तृत छलफल भयो ।
महासंघको कार्यकारिणी समितिका सदस्यहरु बी.के. श्रेष्ठ, छायां शर्मा, ओम वहादुर राजभण्डारी, ज्ञानेन्द्रलाल प्रधान, शंकर प्रसाद पाण्डेको सहभागिता र डीवी वस्नेत, कल्याणकृष्ण ताम्राकार, सौरभ ज्योति, दिनेश श्रेष्ठ, महासंघका महानिर्देशक हेमन्त दवाडीको उपस्थिति रहेको सो भेटघाटका अवसरमा दुवै देशबाट नियमित रुपमा व्यवसायिक भ्रमणको आयोजना, संयुक्त लगानीका सम्भाव्य क्षेत्रहरुका विषयमा नियमित रुपमा अन्तरक्रिया, छलफल, सूचना आदान प्रदान तथा अनुकुलताका आधारमा संयुक्त लगानीका विषयमा संयुक्त कार्यक्रमको आयोजना हुनु पर्नेमा जोड दिइयो ।
करिव तीन करोड ७३ लाख ६० हजार अमेरिकी डलरको व्यापार घाटा व्यहोरीरहेको नेपालबाट यूएईमा उच्च मूल्यका कृषि उत्पादन जस्तो अलैची, चिया, कफी, अदुवा, ताजा तरकारी तथा फलफूलहरु, हाते गलैचा, हस्तकलाका सामग्रीहरु निर्यातको ठूलो सम्भाव्यता रहेको सो अवसरमा जोड दिइयो । बैठकमा गत वर्षमात्र नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त अरव इमिरेट्स उद्योग वाणिज्य महासंघ (FUAECCI) बीच दुई देशको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका लागि आपसी सहकार्य गर्ने उद्देश्यले यूएईको फुजेरा इमिरेट्समा सहमतीपत्र (MoU) मा हस्ताक्षर भएको स्मरण गर्दै उक्त सहमतीपत्रको मर्म र भावना अनुरुप आपसी सम्बन्ध आर्थिक सम्बन्ध विस्तारमा जोड दिइयो ।
त्यसअघि राजदुत अव्दुल्लाको स्वागत गर्नुहुंदै महासंघका कार्यवाहक अध्यक्ष राजकर्णिकारले नियमित हवाई उडान, नेपालबाट यूएईमा पर्याप्त वस्तुहरु निर्यात गर्न सकिने सम्भाव्यता रहदा रहदै पनि नेपाल निकै ठूलो व्यापार घाटामा रहेकोले अन्तराष्टिय वजार सम्भाव्यता, प्राकृतिक श्रोतको पर्याप्तता आदि कारणबाट नेपाल विदेशी लगानीका लागि निकै उर्वरभूमि रहेकोले कृषि, पर्यटन, पूर्वाधार विकास, पर्यटन, जलविद्युत विकास, दक्ष जनशक्ति उत्पादन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता औल्याउनु भयो ।
सो अवसरमा राजदुत अव्दुल्लाले नेपाली निजी क्षेत्रले यूएईसंग आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा देखाएको सक्रियताप्रति आफू अत्यन्त उत्साहित भएको बताउनुहुंदै नेपाली निजी क्षेत्रबाट प्राप्त सुझावहरु समेतलाई मनन गरि आगामी दिनमा कुटनीतिक तवरबाट आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । राजदुत अव्दुल्लाले पूर्वाधार निर्माणमा आफ्नो देशको अनुभव नेपालको विकासमा पनि उपयोग गर्न सकिने विश्वास दिलाउनु भयो ।