नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०६८/०६९ को वार्षिक वजेट प्रस्तुतीको दिन आज काठमाडौंमा आयोजना गरेको “राष्ट्रिय बजेट, राष्ट्रिय अन्तरक्रिया” कार्यक्रम आयोजना भइरहंदा सरकारको वार्षिक बजेट रोकिएको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सहभागीहरुले राजनीतिक दलहरु अर्थतन्त्रको संवेदनशील अवस्थाप्रति गम्भीर नभएको निचोड निकालेका छन् ।
राष्ट्रको वार्षिक नीति तथा कार्यक्रम “बजेट”लाई राजनीतिक दलहरुले आफ्नो अभिष्ट पुरा गर्ने हतियार बनाई निर्धारित समयमा प्रस्तुत हुन नदिएकोप्रति दु:ख व्यक्त गर्दै यसबाट राष्ट्र थप अन्यौलता तर्फ धकेलिएको निष्कर्ष निकालिएको छ ।
राष्ट्रलाईनै थप संकट तर्फ लैजाने यस्ता कार्य नगरी नयाँ आर्थिक वर्ष शुरु हुनु अगाडीनै पूर्ण बजेट ल्याउन सवै जिम्मेवार राजनीतिक दलहरु समक्ष कार्यक्रमका सहभागी अर्थविदहरु, उद्यमी व्यवसायीहरु, पूर्व प्रशासकहरु, संचार कर्मीहरुले अपिल समेत गरेका छन् ।
महासंघद्वारा विभिन्न संघ/संस्थाको सहभागिता, अर्थविदहरु, उद्योगी व्यवसायीहरु, संचार माध्यमहरुको समेत सहभागिता र किष्ट बैंक लि.को प्रायोजनमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीहरुले वजेटलाई राजनीति हत्कण्डाको रुपमा प्रयोग गर्न नहुने, निर्धारित समयमा वजेट ल्याउन सरकार तथा राजनीतिक दलहरु गम्भीर हुनु पर्ने, निजी क्षेत्रका सुझावहरुलाई वजेटमा समावेश गर्नुपर्ने, सिथिल अर्थतन्त्रलाई उर्जाशील बनाउन उपचारका सही उपायहरु अवलम्वन गर्नुपर्ने लगायतका सुझावहरु दिनु भएको थियो ।
महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशी, पूर्व अध्यक्ष चण्डिराज ढकाल, अर्थविदहरु डा. विश्वम्भर प्याकुरेल, डा. मदन दाहाल, डा. चिरञ्जीवी नेपाल, डा. भोलानाथ चालिसे, दिपेन्द्र वहादुर क्षेत्री, डा. डिल्लीराज खनाल, महासंघका कार्यकारिणी समितिका सदस्यहरु, वस्तुगत संघका अध्यक्ष, गैर आवासीय नेपालीका प्रतिनिधि, संचारकर्मी, उद्योगी व्यवसायीहरु, बैकर्सहरु लगायतले मुलुकको आर्थिक अवस्था तथा सरकारले चाल्नु पर्ने कदममा धारणा एवं सुझावहरु राख्नु भयो ।