नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसंग नेपालका लागि पोर्चुगलका राजदुत जर्ज रोजा दि ओलिभेरा (Jorge Roza de Olivera, Amabassador of Portugal) ले आज महासंघ सचिवालयमा भेट गर्नुभयो । सो अवसरमा दुवै देश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, निजी क्षेत्र बीच सम्बन्ध विस्तारमा कुटनीतिक तवरबाट हुन सक्ने सहयोग लगायतका विषयमा छलफल भयो ।
भेटका अवसरमा राजुदत ओलिभेराको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले नेपालमा लगानी गर्न थुप्रै सम्भाव्य क्षेत्रहरु रहेकाले पोर्चुगलको लगानी भित्र्याउन कुटनीतिक तवरबाट सहयोगका लागि आग्रह गर्नुभयो । अध्यक्ष वैद्यले नेपालमा कृषि, कृषि प्रशोधन, पर्यटन र पुर्वाधार निर्माण लगायतका क्षेत्रमा लगानीको सम्भाव्यता रहेको र ती क्षेत्रहरुमा पोर्चुगलको लगानीका लागि आग्रह गर्नु हुंदै महासंघले पनि आफनो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
सभासद एवं पोर्चुगलका लागि नेपाली वाणिज्यदुत राजेन्द्र कुमार खेतान र महानिर्देशक हेमन्त दवाडीको समेत सहभागिता रहेको सो भेटघाटमा राजदुत ओलिभेराले नेपाली निजी क्षेत्रसंग भएको वार्ता एवं छलफलबाट दुई देश बीचको सम्भाव्यता वारे राम्रो जानकारी हासिल गर्ने मौका मिलेको र लगानी भित्रयाउने सम्बन्धमा आफनो तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउनु भयो ।
साथै राजदुतले भारतमा पोर्चुगलको लगानीको अवस्थाका विषयमा जानकारी गराउंने क्रममा भारतमा लगानी गरिरहेका लगानीकर्ताहरुलाई नेपालमा पनि आकर्षण गर्न सकिएमा त्यसबाट नेपालको आर्थिक विकासमा सघाउ पुग्न जाने बताउनु हुदै पोर्चुगिज कम्पनीहरुलाई नेपालमा लगानी गर्न आफनो तर्फबाट समेत आव्हान गर्ने विश्वास दिलाउनु भयो ।