श्रमिक तथा ट्रेड युनियनका नाममा भएका गैर कानूनी व्यवहार र आचरणका कारण बन्द भएको सूर्य नेपाल गार्मेन्ट उद्योग खुलाउने सम्बन्धमा सम्मानित संसदको अर्थ तथा श्रम सम्बन्ध समितिको ध्यानाकर्षण भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ उत्साहित भएको छ ।
गरि खाने भन्दा मागि खानेको वोलवाला बढ्दै गएको र उद्योग बन्द भए होस भन्ने प्रवृत्ति र चाहना गर्नेहरुको जमात उत्साहित हुदै जाँदा उद्योग व्यवसाय माथि अनावश्यक दवाव सृजना गर्ने कार्य बढी रहेको छ । यस्तो कहालीलाग्दो अवस्थाप्रति गम्भिर हुन सम्मानित संसदको अर्थ समिति, नेपाल सरकार तथा राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराउंदछौं ।
सूर्य गार्मेन्ट बन्द हुुनु संकेत मात्र हो । अहिले उद्योग व्यवसायले थुप्रै समस्या र चुनौतिहरु सामना गर्नु परिरहेकोस्थितिमा श्रम समस्याले गर्दा उद्योगहरु बन्द गर्नुपर्ने स्थिति बन्दै गएको छ । कतिपय उद्योग व्यवसाय बन्द भएका जानकारी सार्वजनिक भएका छन् भने कयौ उद्योगहरु सार्वजनिक जानकारी वेगरनै बन्द भएका छन् र तिनीहरु बन्द भएपनि कसैको ध्यान जान सकेको छैन । नेपालमा उद्योग संचालन गर्ने वातावरण छैन, अराजकता र असुरक्षाको बीच लगानी गर्न सबै हिच्किचाई रहेको बेला सूर्य गार्मेन्ट बन्द भएको स्थितिले अन्तर्राष्ट्रिय जगतमै नकारात्मक सन्देश गएको छ । उद्योग व्यवसाय गर्ने उपयुक्त वातावरण नवनेसम्म कुनै पनि हालतमा मुलुकभित्र उद्योग व्यवसाय विस्तार हुन सक्दैन भन्ने कुराको सवैमा स्मरण गराउंदछौं ।
यसर्थ, व्यवसायको सुरक्षाको प्रत्याभुति सहित उद्योग व्यवसाय गर्ने उपयुक्त वातावरण निर्माण गरी लगानीकर्ताहरुलाई अव नेपालभित्र भय एवं जोखिममुक्त वातावरण छ भन्ने बलियो सन्देश प्रवाह गर्ने कार्यमा सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ सम्मानित संसदको अर्थ समिति, नेपाल सरकार, राजनीतिक दलहरु सहित सम्बन्धित सवै पक्ष समक्ष गम्भीर आग्रह समेत गर्दछ ।