प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रको अवस्थालाई मनन गरि छिट्टै प्रधानमन्त्री कार्यालयमा आथिक इकाई (Economic Cell) स्थापना गर्ने विश्वास निजी क्षेत्रलाई गराउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा प्रधानमन्त्री डा. भट्टराई समक्ष भेटघाट गर्न आज प्रधानमन्त्री कार्यालय गएको महासंघको प्रतिनिधिमण्डलाई सम्वोधन गर्नुहुंदै प्रधानमन्त्रीले एक महिनाभित्र आफूले उक्त सेल स्थापना गर्ने र त्यसअघि यस विषयमा पुन: निजी क्षेत्रसंग बसेर छलफल गर्ने समेत विश्वास दिलाउनु भयो ।
प्रधानमन्त्री भट्टराईले आर्थिक विकासमा करिव ९० प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रकै नेतृत्वमै मुलुकको अर्थतन्त्रलाई अगाडी बढाउन आफूप्रतिवद्ध रहेको र निजी क्षेत्रसंग प्रत्येक महिनाको एकपटक नियमित रुपमा भेटघाट गरि मुलुकको आर्थिक विकासमा निजी क्षेत्रलाई एकसाथ लिएर अगाडी जाने प्रतिवद्धता समेत जनाउनु भयो । निजी क्षेत्रलाई आश्वत पार्दै प्रधामन्त्रीले भन्नु भयो–सरकार त नीति निर्माण गरिदिने र आवश्यक वातावरण वनाई दिनेमात्र हो, काम गर्ने त तपाईहरुनै हो । यसमा म पूर्ण विश्वस्त छु । प्रधानमन्त्री डा. भट्टराईले स्वदेशी उद्योग व्यवसायको विकासका लागि आफू क्रियाशिल रहेको र उद्योग व्यवसाय क्षेत्रलाई आफनो निरन्तर सहयोग रहने विश्वास समेत दिलाउनु भयो ।
प्रधानमन्त्रीले पर्यटन, उर्जा, कृषि, पूर्वाधार निर्माण लगायतका क्षेत्र सरकारको प्राथमिकता रहेकाले यस क्षेत्रमा लगानी बढाउन, संयुक्त लगानी भित्रयाउन सहयोगका लागि निजी क्षेत्रलाई आग्रह समेत गर्नुभयो ।
त्यसअघि महासंघका अध्यक्ष वैद्यले नवनियुक्त प्रधानमन्त्री डा. भट्टराईलाई निजीक्षेत्रको तर्फबाट हार्दिक बधाई दिनुहुंदै अर्थतन्त्रको विद्यमान अवस्थाप्रति प्रधानमन्त्री जानकार हुनु भएको र त्यसलाई सम्वोधन हुन ठोस पहल हुनेमा निजी क्षेत्र विश्वस्त रहेको वताउनु भयो ।
अध्यक्ष वैद्यले उद्योग व्यवसाय क्षेत्र यतिखर उर्जा अभाव, श्रम समस्या, शान्ति सुरक्षा लगायतबाट ग्रसित भैरहेकोले अर्थतन्त्रलाई राहत पुग्ने कार्यक्रम सरकारबाट शीघ्र आउनेमा आफूहरु विश्वस्त रहेको बताउनु भयो । अध्यक्ष वैद्यले यतिखेर विदेशी लगानीका उद्योगहरु बन्द हुने क्रम बढ्दै गएको, शैक्षिक संस्था लगायतका उद्योगधन्दामा श्रम समस्या बढ्न जांदा लगानीको वातावरण अझ जीर्ण बन्दै गएको, अन्तराष्ट्रिय जगतमा नेपालका विषयमा नरामं्रो संदेश प्रवाह भएको लगायतमा ध्यानाकर्षण गराउनु भयो ।
महासंघका पुर्व अध्यक्षहरु पद्य ज्योति, प्रदीपकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष भवानी राणा, कार्यकारिणी समितिका सदस्यहरु, प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सहभागिता रहेको सो अवसरमा महासंघका तर्फबाट तीन खम्वे अर्थनीतिका नाउंमा निजी क्षेत्रको भूमिकालाई गौण गर्न खोजिएको प्रति गुनासो गर्दै सहकारीलाई निजी क्षेत्रभित्रै एक पक्षको रुपमा परिभाषित गरिनु पर्ने र सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसारनै मुलुकको आर्थिक विकासलाई निजी क्षेत्रको नेतृत्वमा अगाडी बढाउन आग्रह समेत गरियो ।
त्यसैगरि उर्जा संकटलाई सम्वोधन गर्न तत्काल कार्यक्रम ल्याउनु पर्ने, अन्तराष्ट्रिय उडानका लागि तत्काल विमान खरिद गर्नुपर्ने, अन्तराष्ट्रिय विमानस्थललाई चौविसै घन्टा संचालन गर्ने व्यवस्था सहित आवश्यक पूर्वाधार विकास गर्नुपर्ने, श्रम समस्यालाई तत्काल संवोधन गरिनु पर्ने लगायतका सुझावहरु महासंघको तर्फबाट दिइएको थियो ।