नेपालको पर्यटन प्रवद्र्धन तथा थाइल्याण्डमा नेपाल प्रवद्र्धनका लागि सहयोग गर्न थाई निजी क्षेत्रले इच्छा देखाएको छ । थाइ नागरिकहरु नेपालप्रति निकै आकर्षित रहेका र नेपालको हरेक विकास प्रयासमा सहयोग गर्न तयार रहेकाले थाइ निजी क्षेत्र नेपाली निजी क्षेत्रसंग सहकार्य गरि अगाडी बढ्न इच्छुक रहेको नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा सम्पन्न द्विपक्षीय व्यावसायिक भेटवार्तामा बताइयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, उपाध्यक्ष पशुपति मुरारका र कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित महासंघको प्रतिनिधिमण्डल, नेपालका लागि थाइ राजदुत मेरिस सांगियापोंङसा (Maris Sangiampongsa, Thai Ambassador to Nepal) र थाई सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गतको दक्षिण एशिया, मध्यपूर्व एशिया र अफ्रिका मामिला विभागका उप–महानिर्देशक चाइपान वुमरुङफोङ (Chayapan Bumrungphong, Deputy Director- General, Department of South Asian, Middle East and African Affairs) को नेतृत्वमा नेपाल भ्रमणमा आएको व्यावसायिक प्रतिनिधिमण्डल बीच आज सम्पन्न भेटवार्तामा सो इच्छा प्रकट गरिएको हो ।
उक्त बैठकको प्रारम्भमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले पर्यटन, पूर्वाधार, जलविद्युत, व्यवसायिक कृषि, जडीवूटी नेपालका प्रमुख लगानीका क्षेत्रहरु रहेकोले ती क्षेत्रहरुमा लगानीका लागि थाई प्रतिनिधिमण्डल समक्ष आग्रह गर्नु भयो । अध्यक्ष वैद्यले वौद्ध धर्मले नेपाल र थाइल्याण्डलाई निकै नजिक बनाएको स्मरण समेत गर्नुभयो । अध्यक्ष वैद्यले हामी बीच सहकार्यका सम्भाव्यतालाई वास्तविक रुपमा रुपान्तरण गर्ने कार्यलाई अगाडी बढाउन नेपाल–थाई व्यावसायिक परिषद (Nepal-Thai Economic Council) जस्ता फोरमको गठनको आवश्यकतामा जोड दिनु भयो ।
आपसी सम्बन्ध निकै प्रगाढ रहेपनि व्यवसायिक सम्बन्ध मजवुद हुन नसकेको सन्दर्भमा थाई उद्योगहरुका सहायक उद्योगहरु नेपालमा स्थापनाका लागि पहल हुन पनि अध्यक्ष वैद्यले जोड दिनु भयो । अध्यक्ष वैद्यले आगामी जनवरीमा नेपालबाट ठूलो व्यावसायिक प्रतिनिधिमण्डलले थाइल्याण्डको भ्रमण गर्ने र सोही क्रममा महासंघको कार्यकारिणी समितिको बैठक समेत थाइल्याण्डमै गर्ने योजना रहेको जानकारी गराउनु भयो । उक्त बैठक अगाडी नेपाल र थाइल्याण्ड बीच आर्थिक व्यावसायिक, संयुक्त लगानी तथा आयात निर्यातका क्षेत्रमा गर्न सकिने सहकार्यका लागि केही महत्वपूर्ण योजनाहरु समेत त्याहां पठाउने र थाइल्याण्ड भ्रमणका क्रममा त्यसलाई सकेसम्म मूर्तरुप दिने बताउनु भयो । व्यवसायिक भेटवार्ताका क्रममा अध्यक्ष वैद्यले नेपाललाई थाइल्याण्डमा प्रचारप्रसार गरि सहयोग पुर्याउन समेत आग्रह गर्नुभयो ।
सो अवसरमा नेपालका लागि थाइ राजदुत मेरिस सांगियापोंङसा (Maris Sangiampongsa, Thai Ambassador To Nepal) ले नेपालको विकास प्रयासमा सहयोग गर्न थाइसरकार र थाईजनता निकै उत्साहित रहेको र वौद्ध धर्म नेपाल–थाई सम्बन्धको सेतु भएको बताउनु भयो । राजदुत सांगियापोंङसाले जल उर्जा, पर्यटन, कृषि क्षेत्र नेपालको विकासका लागि सशक्त क्षेत्र भएकाले यसमा कसरी आपसी सहयोग गर्न सकिन्छ त्यसमा दुवै देशका निजी क्षेत्र बसेर ठोस योजनाहरु बनाउन सुझाव दिनुभयो । साथै राजदूतले यस कार्यमा कुटनीतिक तवरबाट आफूले सक्दो सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो ।
थाई प्रतिनिधिमण्डलका नेता एवं थाई सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गतको दक्षिण एशिया, मध्यपूर्व एशिया र अफ्रिका मामिला विभागका उप–महानिर्देशक चाइपान वुमरुङफोङ (Chayapan Bumrungphong, Deputy Director- General, Department of South Asian, Middle East and African Affairs) ले नेपालमा थाई लगानी तथा सहकार्यका क्षेत्रहरुको पहिचानका लागि नेपाली निजी क्षेत्रलाई आग्रह गर्नुहुंदै महासंघको कार्यकारिणी समितिको थाइल्याण्डमा हुने बैंठक आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।