»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत सद्भावना भ्रमण टोलिमा संलग्न व्यवसायीहरुको प्रतिनिधिमण्डलको भारत भ्रमण वारेको टिपोट (२०६८।७।८)


सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणको टोलीमा ३० जना भन्दा बढी व्यवसायीहरुको टोलीले भारत भ्रमण गर्‍यो । महासंघका अध्यक्ष श्री सुरज बैद्यले नेतृत्व गरेको उक्त टोलीमा महासंघका पूर्व अध्यक्षहरु पद्म ज्योति, चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षहरु भवानी रणा, पशुपति मुरारका, पूर्व उपाध्यक्ष दिवाकर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश कुमार बस्नेत, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लता प्याकुरेल, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, मोरङ्ग व्यापार संघका अध्यक्ष अभिनाष बोहरा, नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष कृष्ण आचार्य, महासंघका कार्यकारिणी समिति सदस्यहरु ज्ञानेन्द्र लाल प्रधान, चन्द्र प्रकाश ढकाल, र शेखर गोल्छा, नेपाल भारत उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायत अन्य संघ/संस्थाका पदाधिकारीहरुको सहभागिता थियो ।

भ्रमणका अवसरमा भारतका राष्ट्रिय उद्योग व्यापार संघहरु फिकि (FICCI) सिआईआई (CII) र एशोचेम (ASSOCHAM) ले प्रधानमन्त्रीको सम्मानमा संयुक्त दिवाभोजको आयोजना गरेको थियो । उक्त दिवाभोजमा प्रधानमन्त्रीले भारतीय उद्योगी व्यापारीलाई नेपालमा लगानी गर्न आव्हान गर्नुका साथै लगानीकर्ताको लगानीको सुरक्षा दिन आफु तयार रहेको कुरा विश्वास दिलाउनु भयो । सोही कार्यक्रममा बोल्नु हुंदै महासंघका अध्यक्ष श्री सुरज बैद्यले नेउवामहासंघ सरकारसंगको सहकार्यमा लगानी वर्ष २०१२।१३ सफल पार्न लागि परेको र नेपालको लगानीको वातावरणमा क्रमिक सुधार हुंदै गएको कुरा औल्याउनु भयो । उहांले भारतीय व्यवसायीहरुलाई पहिलो प्रवेशकर्ता भई फाइदा लिन आव्हान समेत गर्नु भयो । भ्रमणकै क्रममा नेउवामहासंघ र भारतीय उद्योग परिसंघ (Confederation of India Industry - CII) को संयुक्त आयोजनामा ठूला भारतीय कम्पनीका प्रमुख कार्यकारीहरुसंग एक ब्रेकफाष्ट बैठक सम्पन्न भयो । उक्त बैठकमा भारतीय कम्पनीका प्रतिनिधिले नेपालको औद्योगिक वातावरण, भारतीय लगानीकर्ताहरुले भोग्ने गरेका समस्या वारेमा चासो राखेका थिए । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीले आफूले भारतीय व्यवसायीको चासो आत्मसाथ गरेको र भविष्यमा लगानीको वातावरणमा सुधार हुंदै जाने विश्वास दिलाउनुका साथै विपा सम्झौताले भारतीय व्यवसायीमा विश्वास बढाउने आशा व्यक्त गर्नु भयो । उक्त अवसरमा महासंघका अध्यक्षले यस्ता बैठकबाट भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन मिल्ने धारणा राख्नु भयो । उहांले नेपालमा सबैभन्दा धेरै लगानी गर्ने श्रोत मुलुकमा रहेको भारतका लगानीकर्ताहरुको विश्वास जित्नु अपरिहार्य भएको र नेपालमा वातावरण सुधारोन्मुख रहेको धारणा राख्नु भयो । उक्त बैठकमा जलविद्युत, शिक्षा, आधारभूत सेवा, कृषिमा आधारित उद्योग आदि क्षेत्रमा लगानी बढाउने वारे छलफल भएको थियो ।

भ्रमणकै अवसर पारेर नेउवामहासंघ र भारतीय उद्योग परिसंघको संयुक्त आर्थिक परिषद् (Joint Economic Council) को बैठक पनि (CII) को मुख्यालय नयां दिल्लीमा सम्पन्न भयो । उक्त बैठकमा नेपाल भारत आर्थिक सम्बन्धलाई नयां र माथिल्लो तहमा पुर्‍याउने वारे छलफल भएको थियो । उक्त बैठकमा नेपाल भारत व्यापार, पारवहन र अन्य बिषयका समस्याहरु तत्काल पहल गर्न पारवहन, व्यापार तथा वित्तिय र जलविद्युत गरी ३ वटा उपसमितिहरु गठन भई तिनको काम अघि बढाउने र नेपाल भारत सम्बन्धको विस्तृत अध्ययन गरी नयां उचाईमा लैजानका लागि एक कार्यदल गठन गर्ने सहमति भयो । स्मरणरहोस यस्तै कार्यदलको प्रतिवेदनले भारतमा नेपालमा उत्पादित बस्तुहरु निर्यात गर्न दिने १९९६ को नेपाल भारत व्यापार सन्धि गराउन प्रमुख भूमिका खेलेको थियो । महासंघको तर्फबाट पूर्व अध्यक्षमा पद्म ज्योति र सिआईआईको तर्फबाट सिआईआईका पूर्व अध्यक्ष श्री राजिव कौल सहअध्यक्ष रहनु भएको यो परिषदमा नेपाल र भारतका प्रमुख व्यवसायीहरुको सदस्यता रहेको छ । परिषद्को बैठकको प्रारम्भमा भारत भ्रमणमा रहनु भएका नेपालका अर्थ मन्त्री वर्षमान पुन: र उद्योग मन्त्री अनिल कुमार झाको समेत उपस्थिति थियो ।

भ्रमणकै सिलसिलामा महासंघका अध्यक्षको नेतृत्वमा एक प्रतिनिधिमडण्लले भारतीय व्यापार मन्त्री श्री आनन्द शर्मासंग शिष्टाचार भेट गर्‍यो । उक्त भेटमा महासंघको प्रतिनिधिमण्डलले भारतको कलकत्ता बन्दरगाहमा भएको उच्च चापका कारण नेपाली निर्यात आयातकर्ताहरुले भोग्नु परेको समस्या, बंगलादेशसंगको पारवहन, एक अतिरिक्त बन्दरगाह र केही बस्तुहरुमा लाग्ने ४ प्रतिशतको अतिरिक्त महशूल आदि वारे जिज्ञासा राखेको थियो भने भारतीय विदेश व्यापार मन्त्रीले नेपाललाई सक्दो सहयोग गर्न भारत तत्पर रहेको र यी समस्याहरुलाई नेपाल सरकार मार्फत ल्याउन सुझाव दिनु भयो । साथै उहांले आफू निकट भविष्यमानै नेपाल आउने र सो बेला यी समस्याहरुका वारेमा बृहद छलफल गर्ने आश्वासन दिनु भयो ।

भ्रमणकै क्रममा महासंघको अध्यक्षको नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय अर्थ सचिबसंग पनि भेट गर्‍यो । उक्त अवसरमा नेपालबाट भारत सामान निर्यात गर्दा आई पर्ने समस्याका वारेमा बृहद छलफल भयो ।

यी भेटका अतिरिक्त नेपाली व्यवसायिक टोलीसंग सम्माननीय प्रधानमन्त्रीको छुट्टै भेट भएको थियो भने महासंघको सक्रियतामा उहांले केही भारतीय व्यवसायीहरुसंग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नु भएको थियो ।

यस पटकको प्रधानमन्त्रीको भारत भ्रमण मूलत आर्थिक बिषयमा केन्द्रित रहेको र यस भ्रमणबाट भारतीय व्यवसायीहरुमा नेपालप्रति सकारात्मक सोच बढेको अनुभूति हाम्रो छ । भ्रमणका क्रममा सम्पन्न सम्झौताहरुले नेपालमा लगानी भित्र्याउन मद्दत गर्ने विश्वास निजी क्षेत्रको छ । भ्रमणको अन्त्यमा प्रकाशित संयुक्त विज्ञप्तिमा महासंघले दिएका सुझावहरु समावेश गरिएका छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.