अर्थमन्त्रालयबाट मु.अ.कर छली विषयमा हालै सार्वजनिक गरिएको प्रतिवेदनको आधारमा उद्योग व्यवसायीहरुबाट कर छली गरिएको भन्ने संचार माध्यममा आएको समाचारप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रचलित ऐन, नियम र कानून अनुसार तिर्नुपर्ने कर सवै करदाताले तोकिएकै समयमा तिर्नुपर्दछ भन्ने मान्यतामा महासंघ सधै अडिग रहेको छ । कानून विपरित कर छल्ने तथा कर छलीमा संलग्न हुने व्यक्ति, फर्म तथा कम्पनी जोसुकै भएपनि प्रचलित कानून अनुसार कारवाही गरि स्वच्छ र स्वस्थ व्यवसायको प्रवद्र्धन हुनु पर्ने र अनुसन्धान पछि दोषि प्रमाणित भए सजायंको भागीदार हुनु पर्ने महासघको धारणा हो । दोषी व्यक्ति कानुनी कारवाहीको भागिदार हुनुपर्दछ तथा निर्दोष व्यक्तिलाई अनावश्यक रुपमा दु:ख दिइनु हुदैन भन्ने मान्यता महासंघको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ सैद्धान्तिक रुपमा कुनै पनि राजश्व छलि वा अनियमितताको विषयमा प्रचलित ऐन कानून मुताविकको कारवाहीलाई अगाडी बढाउनु पर्छ भन्ने आफनो मौलिक एवं व्यवसायिक मान्यतालाई यस प्रकरणमा पनि स्थापित गर्न चाहान्छ । त्यस अर्थमा यस प्रकरणमा नियतवश राजश्व छलि गर्ने, गैर कानुनी तरिकाको व्यवसाय गर्ने व्यक्ति, संस्था वा कुनै पनि पक्षले उन्मुक्ति पाउनु हुदैन भन्ने धारणा राख्दछ । तर सवै उद्योगी व्यवसायीलाई आपराधिक रुपमा चित्रण गर्ने देखिएको प्रवृत्तिले उद्यमी व्यवसायीहरुलाई हतोत्साही पार्ने तथा विषम र अप्ठेरो अवस्थामा रहेको अर्थतन्त्रमै नकारात्मक असर पर्न सक्ने तर्फ सचेत रहन नेपाल सरकार लगायत सवैको ध्यानाकर्षण गर्न चाहान्छौ । ।
नेपालको कर प्रणाली, कर प्रशासन र कर व्यवस्थापनको कमजोरी र त्रुटि विना यतिठूलो अंकको राजश्वको अनियमतिता हुन सक्दैन । यस प्रकरणले राजश्वको समग्र व्यवस्थापनकै सुधारको आवश्यकता औल्याएको छ । नक्कली विलविजक जारी गर्ने र अन्जानमा विल स्वीकार गर्नेलाई समान रुपमा हेरिनु हुंदैन । साथै विल विजकको आधिकारिकता जांच्ने उद्योगी व्यवसायीसंग संयन्त्र नहुने तर्फ पनि सवैको ध्यानाकर्षण गर्दछौं । यस प्रकरणमा व्यवसायी बाहेक अन्य क–कस्को संलग्नता छ सोको समेत विस्तृत छानवीन गरि दोषीलाई यथाशीघ्र कारवाहिको दायरामा ल्याउन महासंघ माग समेत गर्दछ । अनुसन्धानको क्रममा रहेका र रितपूर्वक पुनरावेदनको प्रक्रियामा गएका सबैको नाऊँ संचार माध्यममा सार्वजनिक भएको छ र यसले अपराध प्रमाणित हुनु पूर्वनै दोषी घोषित गर्ने प्रवित्तिलाई बढावा दिएको छ ।
अन्त्यमा, सही र गलत काम छुट्टयाई सामाजिक उत्तरदायित्व सहितको व्यवसाय गर्ने, कानून सम्मत उद्योग व्यवसाय गरी अर्थतन्त्रलाई उकास्ने काममा लागेका उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने काममा सवै पक्षको सहयोग, सद्भाव र समर्थनको अपेक्षा महासंघ राख्दछ ।