लामो समयको प्रसव वेदना पश्चात २०६८ कार्तिक १५ गते मंगलवारका दिन राजनीति दलहरुको जिम्मेवारीपूर्ण सुझवुझका कारण शान्ति प्रक्रियाका मूल विषयहरुमा सहमती कायम गर्न सफल भएकोमा ऐतिहासिक सहमतीको स्वागत गर्दै सम्पूर्ण निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ नेपालका प्रमुख राजनीतिक दलहरु सहित सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज लगायत समस्त नेपाली जनतामा हार्दिक बधाई ज्ञापन गर्दछ ।
वृहद राजनीतिक सहमती पछि अव यसको शीघ्र कार्यान्वयन भई छिट्टै देशले “नयां संविधान” पाउने संदेशबाट निजी क्षेत्र अत्यन्त उत्साहित भएको छ । शान्ति निर्माणमा मुख्य राजनीतिक दलहरु बीच सम्पन्न ऐतिहासिक सहमतीले राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण सकारात्मक सन्देश प्रवाह भएको छ भने आम नेपाली जनतामा नयाँ आशा र जागरण पैदा हुन गएको छ । राजनीतिक उपलव्धीको संस्थागत विकासका लागि समुन्नत अर्थतन्त्र पहिलो शर्त हो भन्ने हाम्रो मान्यता हो । आर्थिक समुन्नतीका लागि अव राष्ट्रको सम्पूर्ण ध्यान स्वदेशी एवं वैदेशिक लगानी आकर्षण, पूर्वाधार निर्माण मार्फत हाम्रा सम्भाव्यताको अधिकतम दोहन गरि नेपाली जनताको आर्थिक जीवनस्तर सुधारमा केन्द्रीत हुन अनिवार्य छ ।
वृहद शान्तिका लागि ऐतिहासिक राजनीतिक सहमती पछि अनिवार्य रुपमा आर्थिक क्रान्तिका लागि सबै राजनीतिक दलहरुलाई न्यूनतम आर्थिक सहमती कायम गर्न आग्रह गर्दै नेपाली अर्थतन्त्रको समग्र समुन्नतीका लागि सबै राजनीतिक दलहरु एकमत भएर अगाडी बढ्न ढिलो नगर्न समेत महासंघ अपिल गर्दछ र यस कार्यमा आवश्यक सम्पूर्ण सहयोग गर्न निजी क्षेत्रको प्रतिवद्धता समेत जाहेर गर्दछौं । साथै महासंघको पहलमा नेपाल सरकारबाट सन् २०१२/१३ लाई लगानी वर्षको रुपमा मनाउने तयारी भइरहेको सन्दर्भमा उक्त अभियानलाई सफल पार्न सवै राजनीतिक दलहरुबाट महत्वपूर्ण सहयोगको अपेक्षा समेत गर्दछौं ।