नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघले स्थानीय पहिचान सहितको सामाजिक आर्थिक विकासमा जोड दिंदै आएको बताउनु भएको छ । कार्यवाहका अध्यक्ष राजकर्णिकारले स्थानीय जनताहरुबाट पहिचान गरिएका कार्यक्रम तथा स्थानीय स्रोत साधनको पहिचान सहितको आर्थिक व्यवसायिक विकासनै दीगो हुने हुंदा महासंघले यसमा विशेष जोड दिएको स्पष्ट पार्नुभयो ।
विभिन्न उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणको क्रममा वालिंग उद्योग वाणिज्य संघका अध्यक्ष ले. यामबहादुर गुरुंगको नेतृत्वमा महासंघमा आएको व्यवसायीहरुको प्रतिनिधिमण्डलसंग हिजो महासघ सचिवालयमा आयोजित स्वागत एवं छलफल कार्यक्रममा कार्यवाहक अध्यक्ष राजकर्णिकारले महासंघले स्थानीय उद्योग वाणिज्य संघहरुको नेतृत्वमा स्थानीय सम्भाव्यताको अधिकतम दोहन मार्फत स्थानीय आर्थिक विकास गरी स्थानीय जनताको आर्थिक जीवनस्तर सुधारमा विशेष जोड दिएको बताउनु भयो । उहांले संघहरुलाई स्थानीय तहमा सक्षम नेतृत्व लिन आव्हान गर्दै महासंघले अगाडी सारेको एक जिल्ला एक उत्पादन, इलम प्रशिक्षण र स्वरोजगार कार्यक्रम स्थानीय तहमा सफल पार्न आव्हान समेत गर्नुभयो ।
सो अवसरमा महासंघको जिल्ला नगर उपाध्यक्ष भवानी राणाले जिल्लाका समस्या एवं सम्भाव्यतालाई उजागर गर्दै त्यसलाई कार्यान्वयनमा लगी त्यसबाट स्थानीय उद्यमी व्यवसायी र आम जनतालाई लाभान्वित गर्नेतर्फ कार्यक्रम लैजाने स्पष्ट पार्नुभयो । साथै उहांले स्थानीय क्षेत्रका सम्भाव्यतालाई उजागर गर्न समेत प्रतिनिधिमण्डललाई आव्हान गर्दै चेम्वर अध्ययन अवलोकन भ्रमणबाट पाएका अनुभवहरुलाई संघको सचिवालय सुदृढीकरणमा कार्यान्वयन गर्न सुझाव समेत दिनु भयो । साथै उहांले महासंघले गैर आवासीय नेपालीहरुलाई समेत जिल्ला जिल्लामा ससाना परियोजनाहरुमा लगानी गर्न महासंघले आव्हान गरिसकेको जानकारी गराउनु भयो ।
महासंघको व्राण्डिंग तथा आयश्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकारले महासंघले मेला महोत्सवको आयोजना मार्फत स्थानीय उत्पादन तथा सम्भाव्यतालाई उजागर गर्ने विशेष रणनीतिका साथ कार्य गरिरहेको जानकारी गराउनु भयो । महासंघको गण्डकी अंचलप्रतिनिधि चोपनारायण श्रेष्ठले इलम प्रशिक्षण कार्यक्रम लगायतका शीप मुलक कार्यक्रमलाई यथाशीघ्र विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।
महासंघको सामाजिक सेवा फोरमका संयोजक नन्दकिशोर श्रेष्ठ, महानिर्देशक हेमन्त दवाडीको समेत उपस्थिति रहेको सो अवसरमा प्रतिनिधिमण्डलका नेता गुरुंगले महासंघका कार्यवाहक अध्यक्ष राजकर्णिकारलाई जिल्लाका सम्भाव्यता एवं समस्याहरु समेटिएको प्रतिवेदन हस्तान्तरण गर्नुभयो । उक्त प्रतिवेदनमा संघको क्षमता विकास, वालिंग क्षेत्रका सम्भाव्यता एवं आवश्यकतासहित जिल्लामा स्वरोजगार कार्यक्रम, इलम प्रशिक्षण लगायतका कार्यक्रम कार्यान्वयवनमा जोड दिइएको छ ।