नेपाली उद्यमी व्यवसायी तथा मलेशियन उद्यमी व्यवसायी बीच नेपाल मलेशिया व्यापार विस्तार, नेपालको पर्यटन, लगानी एवं प्रविधि विकासमा मलेशियन लगानी सहयोगका विषयमा हिजो काठमाडौंमा भेटवार्ता सम्पन्न भयो । उद्योग मन्त्री अनिलकुमार झाको समुपस्थितिमा सम्पन्न नेपाल मलेशिया व्यवसायिक परिषदको सो बैठक एवं भेटवार्तामा नेपालको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकार तथा मलेशियाको नेतृत्व मलेशिया–नेपाल व्यावसायिक परिषदका सल्लाकार टान श्री दातो सेरि(डा) असेवीन ची माट (Tan Sri Dato Seri(Dr) Aseh Bin Che Mat, Advisor, Malaysia-Nepal Business Council-MNBC) ले गर्नुभएको थियो ।
सो अवसरमा उद्योग मन्त्री झाले नेपालमा लगानी गर्न मलेशियन लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । वैदेशिक लगानीको आकर्षणका लागि सरकारको तर्फबाट पनि विशेष पहल भैरहेको मन्त्री झाले जानकारी गराउनु भयो । उद्योग मन्त्री झाले नेपालका लागि यतिवेला वैदेशिक लगानी तथा प्रविधिको आवश्यकतामा जोड दिनु भयो । उहांले लगानीकर्ताहरुको लागि आवश्यक सवै प्रकारको सहयोग गर्न सरकार तयार रहेको विश्वास समेत दिलाउनु भयो ।
नेपाल र मलेशियाको अर्थतन्त्रमा घरेलु तथा लघु उद्यमको हिस्सा निकै ठूलो रहेकोले यस क्षेत्रमा मलेशियाले हासिल गरेको अनुभव एवं प्राप्त प्रगति नेपालका लागि पनि निकै लाभदायी हुने हुदा मेलशियनहरु अनुभव आदान प्रदानका लागि इच्छुक रहेको धारणा बैठकमा राखियो । भारत लगायत अन्य देशहरुमा मलेशियन लगानी विस्तार भैरहेको सन्दर्भमा नेपालमा पनि लगानी विस्तारका लागि महासंघको तर्फबाट सो अवसरमा जोड दिइयो ।
मलेशियाका लागि नेपाली राजदुत डा. ऋषिराज अधिकारी, महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठको पनि उपस्थिति रहेको सो बैठकको प्रारम्भमा मलेशियन प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका कार्यवाहक अध्यक्ष राजकर्णिकारले मलेशियन प्रतिनिधिमण्डललाई स्वागत सहित राजनीतिक अवस्था विस्तारै सहज हुंदै गएको अवस्थामा अव नेपाललाई विकसित प्रविधि र लगानी आवश्यकता रहेकोमा मलेशियन लगानीका लागि आग्रह गर्नुभयो । कार्यवाहक अध्यक्ष राजकर्णिकारले मलेशिया–नेपाल व्यवसायिक परिषद्ले नेपाल मलेशिया आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका दिशामा देखाएको उच्च प्रयासको महासंघको तर्फबाट सराहना गर्दै महासंघले यसमा आफनो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । यस प्रकारको व्यवसायिक भ्रमणको आदान प्रदानले आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास प्रकट गर्नुभयो ।
एक तथ्यांक अनुसार नेपाल र मलेशिया बीच ठूलो व्यापार असन्तुलन छ । आ.व. सन् २००९/१० को तथ्यांक अनुसार नेपालको मलेशियासंग करिव रु.४ अर्व ९ करोड ६९ लाख ७३ हजारको व्यापार घाटा रहेको छ । यो व्यापार घाटालाई न्यून गर्न नेपालबाट मलेशियामा निर्यात गर्न सक्ने वस्तुहरुको पहिचान सहित त्यसको विकास गर्नुपर्नेमा बैठकमा महासंघको तर्फबाट जोड दिइयो ।
४२ सदस्यीय मलेशियन व्यावसायिक प्रतिनिधिमण्डलका तर्फबाट मलेशियन सरकारको घरेलु तथा साना उद्योग सम्बन्धी निकाय एसएमई कर्पोरेशनका अध्यक्ष दातुक मोहमद अल अमिन अव्दुल मजिद (Datuk IR(DR) Mohamed Al Amin Abdul Majid, Chairman-SME Corporation Malaysia) ले नेपालका लघु, घरेलु तथा साना उद्योग, पूर्वाधार विकासमा मलेशियन लगानी आकर्षण हुन सक्ने भन्दै यसका लागि नेपालमा लगानीको अनुकुल वातावरण बन्नुपर्नेमा जोड दिनुभयो । सन् २००९ पछि नेपालमा करिव आधा दर्जनभन्दा बढी मलेशियन संयुक्त लगानीका परियोजनाहरु आएका र आगामी दिनमा थप विस्तार गर्नमा आफुहरुको प्रयास रहने विश्वास दिलाउनु भयो ।
महासंघका उपाध्यक्षहरु भवानी राणा, पशुपति मुरारका, कार्यकारिणी समितिका सदस्यहरु, दुवै देशका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको सो भेटवार्तामा नेपाल मलेशिया उद्योग वाणिज्य संघका कोषाध्यक्ष संदिप अग्रवालले धन्यवाद मन्तव्यका क्रममा नेपालीहरुको रोजगारको मुख्य गन्तव्य मलेशियासंग नेपालको आर्थिक व्यवसायिक सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।