नेपाल आयल निगमले औद्योगिक प्रतिष्ठानहरुले प्रयोग गर्ने डिजेलको मूल्यमा २५ प्रतिशतको भारी मूल्य बृद्धि गरेको निर्णय प्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यान आकर्षण भएको छ । चर्को लोडसेडिङ्गबाट आक्रान्त भएका उद्योग व्यवसायलाई निगमबाट गरिएको भारी मुल्यबाट थप आहत पुग्न गएको छ । निजी क्षेत्र निगमको यस प्रकारको गैर जिम्मेवारपूर्ण निर्णय प्रति गम्भीर आपत्ति प्रकट गर्दछ ।
बढ्दो लोडसेडिङ्गको मार खेपि रहेका उद्योग प्रतिष्ठानहरुले डिजेल प्रयोग गरी जेनतेन आफ्ना उत्पादन प्रक्रिया चालू अवस्थामा राखेका थिए । यो मूल्य बृद्धिले अव धेरै उद्योग प्रतिष्ठान चल्न नसक्ने अवस्थामा पुग्ने छन् । यस्तो मूल्य बृद्धिले नेपाली उद्योग व्यवसायले उत्पादन गर्ने सामान विदेशमा निर्मित बस्तुसंग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको छ । विगतमा सरकारले उद्योग प्रतिष्ठानलाई सस्तोमा डिजेल उपलव्ध गराउने निर्णय गरेकोमा आयल निगमको यस निर्णयबाट हामी उद्यमी व्यवसायी स्तब्ध भएका छौं ।
उर्जा संकटको मारका कारण संकटमा परेका उद्योग व्यवसायलाई बचाउन सरकारी राजस्वमा कमी गरेर भए पनि उद्योग प्रतिष्ठानलाई सहुलियति दरमा उर्जा आपूर्ति गर्नु पर्नेमा उल्टो उद्योग प्रतिष्ठानले उपयोग गर्ने डिजेलमा मूल्य बृद्धि हुंदा धेरै उद्योग बन्द गर्नु पर्ने अवस्थामा पुग्ने छन् । डिजेल प्रयोग गर्ने उद्योगप्रतिष्ठानको वाध्यता हो, चाहना होइन । उद्योग प्रतिष्ठानको लागि रु. ९५।– कायम हुने र व्यक्तिगत ठूला गाडिमा प्रयोग हुने डिजेल रु. ७६।– मा पाईने कुरा आपैंmमा बुझी नसक्नु कुरा हो । दोहोरो मूल्य कायम हुंदा बजारमा कालो बजारी शुरु हुने र बिकृति आउने निश्चित छ ।
आयल निगम भित्र मौलाउंदै गएको आर्थिक अनियमितता नियन्त्रण गरी राहत दिनु पर्ने बेलामा त्यसतर्फ ध्यानै नदिई उद्योगलाई उपलव्ध गराउने डिजेलमा मूल्य बृद्धि गरेर मात्र निगम कुनै पनि हालतमा माथि उठाउन नसकिने हाम्रो धारणा छ । यसर्थ सरोकारवालासंग छलफल नै नगरी गरिएको एकतर्फि मूल्य वृद्धिको निर्णयलाई तत्तकाल फिर्ता लिई मुलुकको अर्थतन्त्रलाई थप समस्या तर्फ धकेल्ने कार्य कहिंकतैबाट नगर्न नगराउन नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकारको सम्बन्धित मन्त्रालय र नेपाल आयल निगम समक्ष गम्भिर आग्रह गर्दछ र यसबाट आर्थिक क्षेत्रमा पर्ने नकारात्मक असरको जिम्मेवारी सम्बन्धित निकायनै हुने प्रष्ट पार्दछ ।