नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित महासंघका पदाधिकारी र नेपालका लागि जापानका राजदुत कुनिओ टाकाहासी (Kunio Takahashi, Ambassador, Embassy of Japan in Nepal) बीच आज महासंघ सचिवालयमा आयोजित बैठकमा नेपाल-जापान आर्थिक सम्बन्ध विस्तारको विद्यमान अवस्थाका विषयमा विस्तृत छलफल भयो ।
नेपाली उद्यमी व्यवसायीहरु, जाइका (JICA) तथा नेपालस्थित जापान चेम्वर अफ कमर्स (Japanese Chamber of Commerce in Nepal) का पदाधिकारीहरु सम्मिलित उक्त बैठकमा जापानी लगानी, थप लगानी विस्तार, आर्थिक विकासका लागि नेपालले हाल भोगिरहेका समस्या एवं चुनौतीहरु, नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु लगायतमा विस्तृत छलफल भयो ।
सो अवसरमा महासंघका अध्यक्ष सुरज वैद्यले राजदुत टाकाहासीको स्वागत गर्नुहुंदै नेपाल जापान बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई नेपाली निजी क्षेत्रले नयाँ उचाइमा पुर्याउन खोजेको र नेपाली जनताको आर्थिक जीवनस्तर सुधारमा महासंघले अगाडी बढाएको एक जिल्ला एक उत्पादन कार्यक्रममा जापानी सरकारबाट प्राप्त सहयोग निकै उपलव्धी मुलक भएको बताउनु भयो । अध्यक्ष वैद्यले ओडीओपी कार्यक्रमलाई थप विस्तार गर्ने तर्फ महासंघ लागिपरेको पनि जानकारी गराउनु भयो । नेपाली उद्योग व्यवसायको विकास र स्तरउन्नतीका लागि जापान सरकारबाट जनशक्ति विकासमा प्राप्त सहयोगको सराहना गर्दै अध्यक्ष वैद्यले यसको थप विस्तारमा जोड दिनु भयो ।
अध्यक्ष वैद्यले नेपाललाई लगानीको आकर्षण केन्द्रको रुपमा लैजाने र यसलाई अन्तराष्ट्रिय रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले महासंघकै पहलमा नेपाल सरकारबाट सन् २०१२-१३ लाई लगानी वर्षको रुपमा मनाउने योजना रहेकाले लगानी वर्षलाई सफल पार्न जापानी विशेषज्ञताको आवश्यकतामा जोड दिनु भयो । साथै उहांले नेपाल ठूला छिमेकी देश भारत र चीन बीचमा रहेको र नेपालले छिमेकी भारतसंग द्विपक्षीय लगानी प्रवर्द्धन एवं संरक्षण सम्झौता (BIPPA) र दोहोरो कर मुक्ति सम्झौता समेत गरिसकेको सन्दर्भमा नेपालमा लगानी विस्तारको पहलका लागि आग्रह गर्नुभयो ।
सो अवसरमा राजदुत टाकाहासीले नेपालको आर्थिक विकासमा जापान सरकार सदैव सहयोगी रहेको विश्वास दिलाउंदै वुंदागत रुपमा भन्नुपर्दा नेपालका लागि यतिखेर शान्ति र स्थायित्व तथा भौतिक एवं संस्थागत पूर्वाधार विकास मुख्य प्राथमिकता रहेको बताउनु भयो । राजदुत टाकाहासीले पर्यटन नेपालको महत्वपूर्ण उद्योगको रुपमा रहेकाले पर्यटकलाई संख्यामा मापन गर्नुभन्दा पनि गुणस्तरीय पर्यटकहरु भित्र्याउने तर्फ समग्र प्रयास हुनुपर्ने सुझाव दिनु भयो । राजदुत टाकाहासीले नेपालले छिमेकी देश भारत त्यसमा पनि उत्तर भारतसंगको बजार प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने सुझाव दिनुभयो । औद्योगिक क्षेत्रका लागि छुट्टै औद्योगिक पार्कको अवधारणा विकास गरि उक्त क्षेत्रमा २४ सै घण्टा विद्युत आपूर्ति तथा सुरक्षाको भरपर्दो व्यवस्था एवं श्रम समस्या मुक्त क्षेत्रको रुपमा विकास गरि लैजानु पर्ने र यसो भएमा विदेशी कम्पनीहरु नेपालमा लगानीका लागि आकर्षण हुने धारणा राख्नु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघले जापानी राजदुतावाससंग निरन्तर सम्पर्कमा रहेर दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा कार्य गर्दै जाने विश्वास दिलाउनु भयो ।
महासंघको कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरु, जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि मित्सुयोसी कावासाकी (Mitsuyoshi Kawasaki, Chief Representative, JICA Nepal Office), नेपालस्थित जापान चेम्वर अफ कमर्सका अध्यक्ष जुनको नातो (Junko Naito, President, Japanese Chamber of Commerce in Nepal) को सहभागिता र नेपाल जापान आर्थिक सम्वन्धका विषयमा प्रस्तुती समेत गरिएको सो कार्यक्रममा नेपालमा व्यवस्थित सहरीकरण, व्यवसायिक कृषि विकास, उर्जा, पर्यटन, लगायतमा जापानी अनुभवको आदान प्रदानमा लगायतमा जोड दिइएको थियो ।